निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । नेपाल सरकारले दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन गरी २०७४ असार १४ गते बुधबार गर्ने गरी निर्णय गरेअनुसार आयोगको बुधबार बसेको आयोगको बैठकको निर्णय अनुरुप नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरिएको जनाईएको छ ।
प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ ।
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने नेपाल सरकारको निर्णयअनुसार आयोगले जेठ १९ बाट सुरु हुने गरी प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो ।



