काठमाडौं, १९ असोज । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसद्ले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसद्का समितिहरूमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामा मात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद् सचिवालयले जानकारी दिएको छ । समितिहरू, संसदीय दलको र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो । तर, गत भदौमा ७ लाख ६२ हजार ४ सय ८३ रुपैयाँ मात्रै खर्च भएको छ । संसद्मा १२ समिति र एक विशेष समिति छन् ।

आजको राजधानी  दैनिकमा खबर छ– सभामुख ओनसरी घर्ती मगरले गत भदौदेखि लागू हुने गरी संसदका समितिहरू, संसदीय दल तथा संसद् सचिवालयमा व्यापक रूपमा खर्च कटौती गर्न निर्देशन दिएकी थिइन् ।

भदौ महिनामा समितिहरूमा भएको खर्च विवरण हेर्दा गत वर्ष भदौ महिनामा मात्रै ५७ लाख ९७ हजार ४ सय ६२ रुपैयाँ खर्च भएको थियो भने गत भदौमा समितिहरूमा २ लाख ४५ हजार ८ सय भएको थियो ।

यसैगरी, संसदीय दलमा भएको खर्च पनि निकै घटेको छ । गत वर्ष ५ लाख ६९ हजार ५ सय ९८ रुपैयाँ खर्च भएकोमा यो वर्षमा भने ४ लाख ८८ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयमा भएको खर्चमा गत वर्षको भदौमा ३३ हजार ४ सय १३ रुपैयाँ खर्च भएकोमा यो वर्ष २८ हजार १७ रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा समितिहरूमा र संसदीय दलमा भएको खर्च ५ करोड १२ लाख ६१ हजार ७ सय २४ रुपैयाँ थियो ।

सभामुखको निर्देशनमा अहिले समितिका बैठकमा कालोचिया वा कालोकफीका लागि मात्र सचिवालयबाट खर्च गर्ने गरिएको छ । संसद्मा भएका क्रियाकलाहरूमा सचिवालयबाट चिया, खाजा र खाना खुवाउने कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

समितिका बिहान र बेलुका बसेका बैठकहरूमा सांसदहरूलाई जनही ४ सय रुपैयाँ दिने गरिएको छ । कर्मचारीहरूलाई खाजाबापत बैठक बसे पनि नबसे पनि दैनिक ६ सय रुपैयाँ खाजा खर्च दिइएको छ । संसद्मा सबै महाशाखा र शाखाहरूमा दैनिक रूपमा व्यस्त हुनुपर्ने अवस्था नभए पनि सबैलाई बराबर हुने किसिमले भत्ताको व्यवस्था गरिएको छ ।

सबै कर्मचारीले आफ्नो तलबको ८० प्रतिशत भत्ता पाउँदै आएका छन् । खर्च कटौतीमा लागेको सभामुखको ध्यान अझै यसतर्फ भने जान सकेको छैन ।संसद् सचिवालयमा भएका अन्य गतिधिहरूमा पनि उनले नियन्त्रण गर्दै गएकी छन् । संसद्को बैठक बोलाइएको अवस्थामा कुनै पनि एनजीओको कार्यक्रममा जान पनि उनले रोक लगाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय