काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो बजारमा सेयरको खरिद बिक्री गर्दा लाग्दैआएको ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरुलाई अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले पुँजी बजारसँग सम्बन्धित निकायहरुलाई प्रो–एक्टिभ भएर लाग्न निर्देशन समेत दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको बताउँदै अर्थमन्त्री पौडेलले अहिलेको समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न समेत निर्देशन दिए ।

हाल सेयर कारोबार गर्दा ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म ब्रोकर कमिसन लाग्दै आएको छ । लगानीकर्ताहरुले यसलाई ०.२५ प्रतिशतसम्ममा झार्नुपर्ने माग गर्दैआएका छन् ।

शुक्रबारको बैठकमा अर्थमन्त्रालयका सचिवहरु शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति थियो ।