काठमाडौं । लमजुङ सुन्दरबजार नगरपालिका–४ बस्ने ३४ वर्षीया धनमाया भुजेलको हत्या भयो । पुस १ मा गाउँघरमा पिठो पिस्ने ‘जाँतो’ले हिर्काएर दुईजना पुरुषले उनको हत्या गरे । हत्या आरोपी सुन्दरबजार घर भएका सागर भुजेल र बिकाश भुजेललाई पक्राउ गरिएको लमजुङका डिएसपी गंगा बहादुर थापाले रातोपाटीलाई बताए ।
२० वर्षीय सागर भुजेल र धनमायाबीचमा हिमचिम थियो । गाउँमा हल्ला चल्न थाल्यो–‘धनमाया गर्भवती भईन् ।’ सो हल्लापछि सागरले उनलाई मार्ने योजना बनाए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सागरले आफ्ना साथी बिकाससँग मिलेर हत्या योजना बनाएका हुन् ।
सागरले ‘धनमायासँग अवैध सम्बन्ध रहेको, सो सम्बन्ध खुल्दा पछि अप्ठेरो पर्छ’ भनेर बिकासलाई साथ दिन आग्रह गर्छन् । हत्याको अघिल्लो दिन सागरको घरमा विकास बसेको र भोलिपल्ट बिहान ५ बजे दुवै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
‘पुस १ मा बिहान ५ बजे दुवैजना मिलेर हत्या गरेको देखिन्छ’ डिएसपी गंगाबहादुर थापा भन्छन्–‘हत्यापछि उनीहरुले गोबर ग्याँसको सेफ्टी ट्याङ्कीमा शव व्यवस्थापन गरेका थिए ।’
धनमायाका श्रीमान् सँधै विहानीपख कृषि फर्ममा जान्थे । हत्या आरोपीले महिला एक्लै घरमा सुतिरहेको अवस्था पारेर जाँतोले टाउकोमा हिर्काएर मारेका थिए ।
हत्यापछि फरार सागरलाई प्रहरीले पोखराबाट पक्रेको हो । विकाश सुन्दरबजार स्थित घरबाट पक्राउ परेका हुन् । उनीहरुमाथी ‘ज्यान सम्बन्धी कसुर’मा म्याद लिएर थप अनुसन्धान भईरहेको डिएसपी थापाले रातोपाटीलाई बताए ।










