
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको प्रभावकारी भातृ संस्था नेपाल तरुण दलको नेतृत्व लिन युवाहरुबीच भन्दा वृद्वहरुका बीच चर्को प्रतिस्पर्धा सुरु भएको छ ।
भगिनी संस्थाहरुलाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्न कांग्रेसका बुढा नेताहरुबीच उत्पन्न भीडन्तको स्थितिले तरुणहरुबीचको प्रतिस्पर्धालाई ओझेलमा पारेको छ ।
शीर्षस्थ नेताहरुबीचको प्रतिस्पर्धाका कारण अधिवेशनको मिति निर्धारण हुँदै पटक–पटक सर्दै गरेको छ र पछिल्लोपटक आगामी कात्तिक २७, २८ र २९ गते गर्ने गरी अधिवेशनको मिति तोकिएको छ ।
तरुण दलको यस अधिवेशनमा आयोजक समितिमा रहनेहरुलाई अध्यक्षको उम्मेद्वार बन्न बन्देज लगाइएको छ ।
४५ वर्ष उमेरसम्मका व्यक्तिले मात्र तरुण दलको नेतृत्व लिन पाउने वैधानिक व्यवस्थाका कारण कतिपय इच्छुकहरु स्वतः बाहिरिएका छन् भने आयोजक समितिमा रहेकाहरुलाई समेत बन्देज गरिदिँदा नेतृत्वको संकट पर्ने सम्भावना देखिएको छ ।
तरुण दलमा कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा सभापित शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल अहिलेसम्म अनिर्णीत छन् । नेता खुमबहादुर खड्का भने अध्यक्षमा कर्ण मल्ल, उपाध्यक्षमा रोशन यादवलाई चयन गर्नेबारे परामर्शमा रहेको बुझिन्छ । घटना र विचार साप्ताहिकमा खबर छ ।