
संसारभरीका वैज्ञानिकले जीवनलाई स्वस्थ र लामो बनाउनका लागि विभिन्न अनुसन्धान गरेका छन् । अनुसन्धानको नतिजाले बताउने गर्छ कि आफूलाई स्वस्थ राख्नका लागि केही विशेष कुरालाई ध्यानमा राख्नुपर्छ । जस्तै, ग्रीन टी, ड्राई फ्रुट, सागसब्जी र केही मिनेटको दौड । यसलाई कसरी आफ्नो जीवनमा समावेश गरेर आफूलाई स्वस्थ राख्ने भन्नेबारे जानकारी लिऔं ।
ग्रीन टी पिउँदा जीवन लामो हुन्छः
बिएमजे ओपन डायबिटिज रिसर्च एण्ड केयर जर्नलमा अक्टोबरमा प्रकाशित अनुसन्धानका अनुसार जसलाई मधुमेह छ उनीहरुले कफी वा ग्रीन टी पिउन सुरु गर्दा समय अगावै हुने मृत्युबाट बच्न सक्छन् । यो अनुसन्धान ५ हजार मानिसहरुमाथि पाँच वर्षसम्म गरिएको हो । जसलाई मधुमेह छैन, उनीहरुका लागि पनि ग्रीन टी पिउनु निकै फाइदाजनक हुन्छ । कफी र ग्रीन टीमा थुप्रै प्लान्ट कम्पाउन्ड हुन्छन् जसको एन्टी इन्फ्लामेट्री र एन्टी अक्सिडेन्ट गुणका कारण यो स्वास्थ्यका लागि निकै राम्रो हुन्छ ।
दौडनुहोस्, थुप्रै रोगबाट बच्नुहोस्ः
विश्व स्वास्थ्य संगठनले हप्तामा कम्तीमा ७५ मिनेट तीब्र गतिमा दौडदाँ, साइक्लिङ गर्दा वा स्विमिङजस्ता एरोबिक व्यायाम गर्न भनेको छ । थुप्रै मानिसहरु दैनिक ३५ मिनेट वक वा जगिङ गर्ने गर्छन् ।
गत वर्ष ब्रिटिश जर्नल अफ स्पोट्स मेडिसिनमा प्रकाशित एक अध्ययनमा सबैले दैनिक दौडनुपर्ने बताएको छ । थोरै मात्रै भएपनि दौडन मानिसहरुको बानीले कुनै पनि कारणले हुने मृत्युको खतरालाई कम गर्ने गर्छ ।
दैनिक थोरै भएपनि ड्राई फ्रुटः
अक्सफोर्डका इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा सन् २०१५ मा छापिएको एक अनुसन्धानमा दैनिक बदाम, ओखर, पेस्ताजस्ता नट्स खाने बानीले जीवनमा मृत्युको खतरालाई कम र्छ । अहिलेसम्म नट्सले सबैभन्दा बढी फाइदा मुटुलाई पुर्याउँछ भन्ने गरिन्थ्यो तर यो अनुसन्धानका अनुसार नट्सले मानिसलाई क्यान्सर, स्ट्रोक, साससम्बन्धि रोग, दिमागको बिरामी आदिबाट पनि जोगाउँछ ।
खानामा सागसब्जी बढाउनुहोस्ः
जर्नल अफ द अमेरिकन हार्ट असोसिएशनमा गत वर्ष प्रकाशित भएको अनुसन्धानमा प्लान्ट बेस्ड फूडलाइए खानामा समावेश गर्दा कार्डियोभास्कुलर डेथको खतरा ३२ प्रतिशतसम्म कम हुन्छ । हार्वर्ड मेडिकल स्कूलको क्याथरिन डी म्याकमनसका अनुसार प्लान्ट बेस्ड डाइटको अर्थ फलफूल र सब्जी मात्रै होइन । यसमा नट्स, सिड्स ओइल, होल ग्रेन, बिन्स आदि पनि समावेश हुन्छन् ।