
लमजुङ – कतारमा ६ वर्ष र साउदीमा १२ वर्ष गरी १८ वर्ष परदेशी भूमिमै श्रम–पसिना बगाउनुभयो, लमजुङ राइनास नगरपालिका–७, बगरका टुकबहादुर घलेले ।
लामो समयको विदेश बसाइपछि उहाँ स्वदेश फिर्ती हुनुभयो । वैदेशिक रोजगारी नै उहाँको आम्दानीको मुख्य श्रोत थियो । तर विदेशको जागिर छाडेपछि उहाँलाई परिवारको गर्जो टार्न विस्तारै समस्या हुन थाल्याे ।
विदेशमा रहँदा श्रम र समयको महत्व बुझ्नुभएका घलेलाई घरगाउँकै माटोमा उद्यम गर्नुपर्छ भन्ने लाग्यो र परिवारको सल्लाहमा २०७२ सालमा एक रोपनी जग्गामा माछापालन व्यवसाय सुरु गर्नुभयो ।
‘लामो समय विदेश बसियो । विदेश छाडेपछि परिवार पाल्न आम्दानी गर्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘जागिर छैन, पेन्सन छैन । परिवारको गुजारा चलाउनका लागि केही उद्यम त गर्नुपर्यो । त्यसैले माछापालन व्यवसायमा लागेँ ।’
माछापालन व्यवसायबाट राम्रो आम्दानी भयो । माछापालन व्यवसायबाट राम्रो आम्दानी भएपछि उहाँले यस व्यवसायलाई थप विस्तार गर्नुभयो ।
‘सुरुमा एक रोपनी जग्गामा पोखरी बनाई माछापालन सुरु गरेँ,’ उहाँले थप्नुभयो, ‘आम्दानी राम्रो भयो । अहिले माछापालन व्यवसाय थप विस्तार गरेको छु ।’
वार्षिक ६ क्विण्टल माछा उत्पादन : स्थानीय स्तरमै खपत
हाल १० रोपनी जग्गामा ८ वटा माछापोखरी बनाई माछा पाल्दै आउनुभएको छ, उहाँले । उहाँको फर्मबाट वार्षिक ५/६ क्विण्टलसम्म माछा उत्पादन हुँदै आएको छ । उत्पादित माछा स्थानीय स्तरमै खपत हुँदै आएको छ । उहाँले प्रतिकेजी ५ सय रुपैयाँमा माछा बिक्री गर्दै आउनुभएको छ ।
उहाँले उन्नत जातका माछा पाल्दै आउनुभएको छ । उहाँका अनुसार उत्पादित माछा गोरखा ठाँटीपोखरी, तनहुँ तुरतुरे, लमजुङ धमिलिकुवा, पाउँदी, बेसीशहर लगायतका ठाउँमा खपत हुँदै आएको छ ।
‘बजारको कुनै समस्या छैन । विभिन्न ठाउँबाट माछा लिन र माछा खानका लागि ग्राहक फर्ममै आउँछन्,’ उहाँले भन्नुभयो ।
माछापालनसँगै तरकारी र केरा खेती
माछापोखरी डिलमा उहाँले व्यवसायिक केराखेती समेत गर्नुभएको छ । केराखेतीबाट पनि उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
‘माछापोखरी डिलमा केराखेती गरेको छु । विभिन्न तरकारी पनि लगाएको छु’, उहाँले भन्नुभयो, ‘तरकारी, केरा बिक्रीबाट पनि राम्रो कमाइ भएको छ ।’
विगतमा धान लगाउँदै आएको जमिनमा अहिले माछापालनका साथ तरकारी र केराखेती सुरु गरेपछि आम्दानी बढेको उहाँ बताउनुहुन्छ ।
‘पहिले ३० मुरी हाराहारीमा धान फल्थ्यो । यसले गुजारा मात्र चल्थ्यो,’ उहाँले थप्नुभयो, ‘अहिले यो व्यवसाय सुरु गरेपछि आम्दानी राम्रो भएको छ । विदेशमा भन्दा स्वदेशकै कृषि कर्मबाट मलाई सन्तुष्टि मिलेको छ ।’
‘ह्याचरी’ समेत सञ्चालन
माछापालक किसानको रुपमा परिचय बनाइसक्नुभएका घलेले अहिले ‘ह्याचरी’ समेत सञ्चालन गर्नुभएको छ । उहाँको ‘ह्याचरी’बाट माछाका भुरा उत्पादन हुँदै आएको छ । उहाँका अनुसार माछाका भुराको माग बढ्दो छ । भुरा बिक्रीबाट कमाइ पनि राम्राे भएको छ ।
उत्पादित माछाका भुरा लमजुङ, गोरखा, तनहुँका विभिन्न ठाउँमा खपत हुँदै आएको छ ।
‘थोरै समयमा राम्रो आम्दानी लिन सकिन्छ । माछा बिक्रीमा भन्दा पनि माछाका भुरा बिक्रीबाट राम्रो आम्दानी हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार विगतमा माछाका भुरा लिन अन्यत्र जानुपर्थ्याे , समस्या हुन्थ्यो । ‘अहिले आफ्नै ‘ह्याचरी’मा उत्पादित माछाका भुरा पोखरीमा राख्न पाइयो । स्थानीय किसानलाई पनि सजिलो हुने भयो,’ उहाँले भन्नुभयो, ‘माछाका भुरा लिन अन्यत्र जानु नपरोस् भनेर ह्याचरी पनि सञ्चालन गरेको छु ।’
माछापालन र ‘ह्याचरी’ सञ्चालनमा ३० लाख हाराहारीमा लगानी भइसकेको उहाँ बताउनुहुन्छ । ‘माछापालनको साथमा माछाका भुरा उत्पादनलाई पनि अघि बढाउने योजना छ । माछापालनमा भन्दा माछाका भुरा उत्पादनमा बढी फाइदा छ,’ उहाँले भन्नुभयो ।
गर्न सके माछापालन : उकासिन्छ जीवनस्तर !
माछापालन व्यवसायमा सम्बन्धित निकायको पनि साथ–सहयोग मिलेको छ, उहाँलाई । कम समय, श्रममा राम्रो आम्दानी लिन सकिने भएकाले व्यवस्थित रुपमा व्यवसायिक माछापालन गर्न सके घरगाउँमै माछापालन गरी जीवनस्तर माथि उकास्न सकिने उहाँ बताउनुहुन्छ ।
‘आवश्यक ज्ञान, सीप लिएर व्यवस्थित ढंगले व्यावसायिक रुपमा माछापालन गर्न सके यसैबाट राम्रो कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।