वधशालामा काम गर्ने मानिसहरुको जीवनबारे बाँकी संसारलाई निकै कम थाहा हुन्छ । यस्ता वधशाला, जहाँ मासुका लागि जनावर काटिन्छ, र त्यहि मासु जुन हामी खान्छौं ।

वधशालामा काम गर्ने एक महिलाले आफ्ना बारे र त्यसले उनको मानसिक स्वास्थ्यमा पारेको प्रभावबारे बीबीसीलाई बताएकी छिन् ।

चेतावनीः या कहानीले केही पाठकको समवेदना आहत हुनसक्छ ।

००००००००००००००००००००००००००००००००००००००

म बाल्यकालमा जनावरको डाक्टर बन्ने सपना देख्थेँ । कुकुरका चञ्चले बच्चासँग खेलिरहेको कल्पना गर्थेँ, बिरालोको डराएको बच्चालाई शान्त गरिरहेको सोच्थेँ र स्थानीय फार्ममा जनावर बिरामी हुँदा उनीहरुको जाँच गरिरहेको सपना बुन्थेँ ।

यो एउटा यस्तो आदर्श जिन्दगी थियो जुन मेरो बाल मस्तिष्कमा गढेको थियो तर वास्तविक जीवनमा त्यो सपना साकार हुन सकेन र मैले एक बधशालामा काम गर्नुपर्यो ।

त्यहाँ मैले ६ वर्षसम्म काम गरेँ जुन मेरो जनावरको हेरविचार गर्ने सपनाको ठिक विपरित थियो । मैले हरेक दिन २५० जनावरको मृत्यु भए नभएको हेर्नुपर्ने थियो ।

मांसाहारी होउन् वा शाकाहारी, धेरै मानिसहरु कहिल्यै वधशाला भित्र गएका छैनन् होला ।

एक फोहोर घिनलाग्दो स्थानः

त्यो स्थान निकै फोहोर र घिनलाग्दो हुन्छ । र यहाँको दुर्गन्ध… तपाईं मरेका जनावरको दुर्गन्धले घेरिनुहुन्छ ।

जस्तै तपाईं एक बाफले भरिएको कोठमा हुनुहुन्छ र त्यो बाफ कोठाबाट बाहिर कतै जान सक्दैन ।

यस्तो स्थानमा कोही किन आउलान् र ? काम किन गर्न चाहन्छन् ?

म यहाँ यसकारण आएँ किनभने मैले थुप्रै वर्षसम्म खानेकुरा उत्पादन क्षेत्रमा काम गरेकी थिएँ ।

मैले तयारी खानाको कारखानामा काम गरिसकेकी थिएँ, त्यसैले जब मैले वधशालामा एक क्वालिटी कन्ट्रोल म्यानेजरको जागिरको प्रस्ताव पाएँ, मैले यसमा केही हानी देखिनँ । म त्यतिबेला ४० वर्षकी थिएँ ।

जागिरको पहिलो दिन उनीहरुले मलाई सबैतिर देखाए, कहाँ, के–कस्ता काम हुन्छन् सबै सबिस्तार जानकारी दिए ।

उनीहरुले मलाई बारम्बार ‘तपाईं ठिक त हुनुहुन्छ’ भनेर सोधिरहेका थिए ।

उनीहरुले नयाँ कर्मचारीको सुरक्षा आफ्ना लागि निकै महत्वपूर्ण भएको मलाई बताइरहेका थिए ।

त्यहाँ सबैकुरा ठिक थियो । त्यो काम देखेर मलाई थोरै खराब लागेको थियो तर मैले सोचेकी थिएँ कि मलाई यसको बानी पर्नेछ ।

तर केही समयपछि नै मलाई थाहा भयो कि यस्तो हुनेवाला छैन ।

मलाई विश्वास छ, सबै वधशाला एउटै हुँदैनन् तर जहाँ म काम गर्थेँ त्यो निकै क्रुर र खतरनाक स्थान थियो ।

यस्ता थुप्रै घटना भए जब जनावरलाई बेहोस पार्ने सबै प्रक्रिया अपनाउँदा पनि केही ठूला बलिया गाइले उनीहरुलाई मार्नका लागि मेसिनमा हाल्नुअघि कसाइमाथि हमला गर्दथे ।

मलाई कुनै चोट त लागेन तर त्यो स्थानले मेरो दिमागमा निकै गहिरो असर पार्यो ।

त्यो झ्याल नभएको ठूलो बक्सजस्तो वधशालामा जतिजति दिन बित्दै गयो, मेरो छातीमा बोझ बढ्दै गयो र मेरो अगाडि अँध्यारो छाउन थाल्यो ।

दिनमा घटित घटना राती नराम्रो सपना बनेर आउँथे ।

वधशालामा तपाईंभित्र एउटा भावना निकै राम्रोसँग आउँछ र त्यो हो – मृत्यु र पीडाका लागि असंवेदनशील हुनु ।

गाईलाई एउटा पूरा जीवित प्राणीको रुपमा देख्नुको साटो तपाईं त्यसलाई बेच्ने र खाने शरीरको एक हिस्साको रुपमा हेर्न थाल्नुहुन्छ ।

यसले तपाईंको कामलाई मात्रै सहज पार्दैन, यो आफू जिउँदो रहनका लागि पनि जरुरी छ ।

‘मलाई घुरिरहेका आँखा’

यद्यपि, त्यहाँ यस्त चिजा पनि थिए जसमा यो असंवेदनशीलालाई छेड्ने शक्ति हुन्थ्यो । मेरा लागि त्यो थियो – टाउको ।

त्यहाँ एउटा ठूलो खाल्डो थियो जसमा गाईका सयौं टाउका हुन्थे । उनीहरुका छाला र बिक्ने जति मासु निकालिन्थ्यो ।

तरपनि उनीहरुको आँखा भने बाँकी नै रहन्थे ।

म त्यहाँबाट हिँडिरहेका बेला मलाई लाग्थ्यो कि सयौं आँखाले मलाई घुरिरहेका छन् ।

कतिले मलाई उनीहरुको मृत्युका लागि जिम्मेवार देखाइरहेका छन्, किनभने म पनि त्यहाँको हिस्सा हुँ ।

केही मेरा अगाडि याचना गरिरहेका छन् ।

यो निकै भयानक र पीडादायी थियो । म आफूलाई दोषी मान्न थालेकी थिएँ ।

जब मैले पहिलो पटक ती सबै टाउका देखेँ तब मैले आफ्नो सबै शक्ति खोसिएको महसुस गरेँ ।

मलाई थाहा छ कि अन्य कर्मचारीलाई पनि यस्तै कुराले तनावमा पार्दथ्यो ।

गर्भवती गाईको हत्याः

म त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ जब मैले वधशालामा काम गरेको केही महिना मात्रै भएको थियो र एउटा केटाले भर्खरै मारिएको गाईको आन्द्रा निकाल्न त्यसलाई खोलिएको थियो ।

उसले गाईलाई चिर्ने बित्तिकै उसको पेटबाट अचानक एउटा भ्रुण खस्यो । त्यो गाई गर्भवती थियो ।

ती युवक चिच्याउन थाले र हामीले उनलाई शान्त गर्नका लागि मिटिङ रुपमा लैजानु पर्यो ।

उसले बारम्बार भनिरहेको थियो, ‘यो सही होइन, यो सही होइन ।’

त्यहाँ यस्ता पुरुष पनि थिए जसले आफ्ना भावना निकै कम नै व्यक्त गर्दथे, तर मैले उनीहरुको आँखामा आँसु देखेकी थिएँ ।

हुन त वधशालामा भावनाका लागि स्थान नै हुँदैन । त्यहाँ कसैले पनि आफ्नो भावनाबारे कुरा गर्दैनथे । जुन भावनाको सबैभन्दा बढी कुरा हुन्थ्यो, त्यो ‘कमजोर नदेखाउने भावना’ थियो ।

पूर्वी–युरोपबाट आउने श्रमिकका लागि यसमा थप समस्या थियो किनभने उनीहरु अंग्रेजीमा आफ्नो मनको कुरा यत्तिकै पनि भन्न सक्दैनथे । अंग्रेजी खराब भएका कारण उनीहरु मद्दत पनि माग्न सक्दैनथे ।

त्यहाँ धेरैजसो श्रमिक निश्चित समयभन्दा बढी काम गरिरहेका थिए । कतिलाई रक्सीले समस्यामा पार्न थालेको थियो किनभने काममा आउनेबित्तिकै उनीहरुले रक्सीको अत्यधिक कडा गन्ध सहनु पर्दथ्यो ।

जबकी अन्यलाई एनर्जी ड्रिङ्क्सको लत लागेको थियो । एक–दुई जनालाई त यसका कारण हृदयघातसमेत भएको थियो ।

तनाव र डिप्रेसनः

वधशालामा काम गर्दा निम्तिने तनावलाई केही अनुसन्धानकर्ताले पिटिएसडी पनि भन्छन् ।

मैले आफ्नै कुरा गर्नुपर्दा, म पनि डिप्रेशनबाट ग्रसित थिए । लामो घण्टासम्म मृत्युबीच घेरिएका कारण म डिप्रेशनमा थिएँ ।

एक समय थियो, म आत्महत्याबारे सोच्न थालेकी थिएँ ।

म स्पष्ट रुपमा यो भन्न सक्दिनँ कि यो सबै वधशालामा काम गरेका कारण निम्तिएको थियो तर एउटा कुरा पक्का हो कि यो एक्लोपन पैदा गर्ने जागिर हो जसमा कसैसँग मद्दत माग्न मुश्किल हुन्छ ।

जब मैले मानिसहरुलाई आफ्नो काम बारे बताएँ तब कतिले त पूर्ण रुपमा त्यसको विरोध गरे भने कतिले कामप्रति जिज्ञासा देखाउँदै त्यसबारे सोधे ।

यद्यपि, यसबारे मैले मानिसहरुसँग निकै कम कुरा गरेँ र उनीहरुलाई मेरो कामले मलाई कस्तो असर पारिरहेको छ भनेर भन्न सकिनँ ।

मैले आफ्नी एक सहकर्मीको मद्दतको क्रममा म आफैंलाई पनि मद्दत चाहिएको छ भनेर महसुस गरेँ ।

मैले पाएँ कि जुन घिनलाग्दो चिज मैले देखिरहेको थिएँ त्यसले मेरो सोच्ने क्षमता घटेको छ, ममा अचम्मका विचार आउँछन् र डिप्रेशन असाध्यै भइसकेको थियो ।

वधशालाको जागिर छोडेपछि स्थिती निकै राम्रो हुन सुरु भयो ।

मैले आफ्नो काम फेरेँ र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने केही संस्थासँग काम गर्न सुरु गरेँ ।

मानिसहरुसँग उनीहरुको भावनाबारे कुरा गर्न सुरु गरेँ । मानिसहरुलाई सम्झाएँ कि डिप्रेशन हुँदा कुनै प्रोफेशनल्ससँग मद्दत लिँदा कति फाइदाजनक हुनसक्छ । यसमा ती मानिसहरु पनि थिए जसलाई लाग्थ्यो कि उनीहरुलाई उपचारको कुनै आवश्यकता छैन ।

मैले जागिर छोडेको केही महिनापछि वधशालामा मसँग काम गरिसकेकी एक सहकर्मीले मलाई सम्पर्क गरिन् ।

उनले वधशालामा जनावरको छाला निकाल्ने काम गर्ने हाम्री एक पूर्व सहकर्मीले आत्महत्या गरेको जानकारी दिइन् ।

म आजपनि ती दिन स्मरण गर्छु, म ती सहकर्मीलाई पनि याद गर्छु जसले नथाकिकनै घण्टौंसम्म काम गर्छन्, जो कुनै ठूलो समुद्रबाट बाहिर निस्कने कोसिस गरिरहेका छन् । मलाई ती मानिसहरु पनि याद आउँछ जो बाँच्न सकेनन् ।

र राती म आँखाा बन्द गर्छु र निदाउने कोसिस गर्छु तब थुप्रै पटक हज्जारौं आँखाको समूहले मलाई घुरिरहेको महसुस गर्छु । – बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय