
काठमाडौं । सवारी निर्माता अमेरिकी कम्पनी टेस्ला भारतीय बजारमा अझै प्रवेश गरेको छैन, तर नेपाली सडकमा भने गुड्न थालिसकेको छ । कम्पनीले आधिकारिक प्रवेश नगरे पनि नेपाली सडकमा टेस्ला देखिन थालेका हुन् ।
सन् २०२० मा सातवटा टेस्ला कार नेपाल भित्रिएका छन् । जसमा चारवटा मोडल एक्सको लङ रेन्ज र तीनवटा मोडल थ्रीको स्ट्यान्डर्ड रेन्ज कार छन् । पाँचवटा बिक्री भइसकेका छन् ।
नेपाली बजारमा मोडल एक्स लङ रेन्जको मूल्य साढे तीन करोड पर्छ भने मोडल थ्रीको सवा करोड रुपैयाँ । नेपाल आयात भएको टेस्ला विद्युतीय कार हङकङको साउथ चाइना एक्जिम लिमिटेडबाट श्रीमा डिस्ट्रिब्युटर्स र एरिट इन्टरनेसनलले आयात गरेका हुन् ।
दुवै कम्पनी नेपालका लागि टेस्लाको आधिकारिक विक्रेता होइनन् । यहाँ बिक्रीपछिको सेवा पनि उपलब्ध छैन ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले डिलरसिपबिनै सवारी आयात गर्ने बाटो खोलेको छ । त्यसका लागि आयातकर्ताले ३० प्रतिशत थप ट्यारिफ बुझाउनुपर्ने हुन्छ ।