विराटनगर : मोरङको रतुवामाईमा ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ रतुवामाई नगरपालिका–६ कादुपाडामा भएको सो दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।
भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको को २ त १२९० नम्बरको ट्याक्टर र बिपरीत दिशाबाट आउँदै गरेको को १५ प १४०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
मोटरसाइकल चालक रतुवामाई–८ का २० वर्षीय ज्ञानेन्द्र भुसालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको थियो। अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि लगिएपछि राति ८ बजेतिर अस्पतालले भुसाललाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक रतुवामाई–८ का ३४ वर्षीय दिलबहादुर भुजेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको एसपी खड्काले बताए। शवलाई पोस्टमार्टमका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको छ।
मोटरसाइकल दुर्घटनामा ३ जना घाइते
उर्लाबारी–रतुवामाई सडक खण्ड अन्तर्गत मोरङकै रतुवामाई–६ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। को ८ प २३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जना बाबुछोरा घाइते भएका हुन्।
घाइते हुनेमा मोटरसाइकल चालक सुनवर्षी–५ का २६ वर्षीय अरुणकुमार ऋषिदेव, उनका बुवा ४५ वर्षीय बिजुलीया ऋषिदेव र भाइ २० वर्षीय किसन ऋषिदेव रहेका छन्। घाइतेमध्ये अरुणकुमारको अवस्था गम्भीर रहेको एसपी खड्काले जानकारी दिएका छन्। उनको पेटबाट आन्द्रा बाहिर निस्किएको छ।
बिजुलीया र किसनको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। रंगेली अस्पतालमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि विराटनगर ल्याइएको छ।
प्रहरीले क्षमताभन्दा बढी (तीन जना) सवार मोटरसाइकल घुम्ती सडकमा तीव्र गतिमा कुदाइएका कारण नियन्त्रण गुमाएर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ।
मोटरसाइकल सडकबाट लगभग १५ मिटर परको बाँसको झ्याङ्भित्र पुगेको थियो। मोटरसाइकलमा सवार रहेकाहरु बाँस झ्याङ्भित्र अड्किएका थिए। इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको नेतृत्वमा घटनास्थलमा पुगेको प्रहरीले टोलीले बाँस झ्याङ्मा अड्किएका घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठाएको हो।
घाइतेहरु झापास्थित भुटानी शरणार्थी शिविरमा काम गर्ने मजदुर भएको खुलेको छ। काम गर्नका लागि परिवारका तीनै जना एउटै मोटरसाइकलमा जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको पाइएको एसपी खड्काले बताए।










