काठमाडौं, २२ जेठ – निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गराउने निर्णय गरेसँगै आइतवार सर्वोच्च अदालतमा दायर भएको रिटले आज बेञ्च पाएको छ । सोमवारका लागि प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश चोलेन्द्र शमशेर जवराको इजलासमा भरतपुरको मुद्दा तोकेकी छिन् । सम्भवत आज जवराको एकल इजलासले भरतपुर मुद्दाको अन्तिम टुंगो लगाउने छ ।
अधिवक्ता तुलसीराम पाण्डेले आइतवार सर्वोच्च अदालतमा भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए । उक्त रिटको पेशी आजका लागि तोकिएको थियो । भरतपुर मुद्दालाई लिएर एमालेले संसद अबरुद्ध गरिरहेको छ । अदालतको आदेशलाई पर्खने मनसायका साथ मंगलवार सम्मका लागि संसद स्थगित गरिएको बुझिएको छ ।
भरतपुरमा मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले सो वडामा फेरि मतदान गराउने निर्णय गरेपछि विवाद बढेको थियो । एमालेले निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ ।



