
चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि शुक्रवार (पुस २४ गते)बाट १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।
पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिसकेको छ ।
दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गरेको हो । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गते बैंकिङ समयपछि हुनेछ ।