मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ क्याम्पडाँडामा सोमबार साँझ टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एक जना भने गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-६ चौघडाका १८ वर्षीय आशिष शिवभक्ति रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते भएका सोही ठाँउका १८ वर्षकै निरज राईको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ।

कान्ति लोकपथमा हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३, ०३-००१ प ४०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर हिजो साँझ साढे ५ बजे आपसमा ठोक्किएका थिए।

मृतक मोटरसाइकल चालक हुन या पछाडि सवार व्यक्ति हुन भन्ने खुल्न बाँकी रहेको छ। टिपर चालकलाई भने जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।