राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचकको हत्या भएको छ।२७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताए।

गत शुक्रबार सवा बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका-१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान खुलेको थिएन। अनुसन्धानको क्रममा सोही ठाउँका विभागमा कार्यरत प्रवीण थापा भन्ने खुलेको डिएसपी खड्काले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खड्काका अनुसार प्रवीणको शव उनको घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो।थापाको टाउकोमा धारिलो हतियारको चोट छ।  उनको पोष्टमार्टम गरी शव परिवारलाई बुझाइसकिइको छ।

'उनको टाउकोमा हतियारले हानेर हत्या गरिएको देखिन्छ। स्थानीयले खबर गरेपछि हाम्रो टोली खटियो,' डिएसपी खड्काले भने, 'टाउकोमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्टमा देखिएको छ।'प्रहरीले यससम्बन्धी अनुसन्धान गरिरहेको छ। उनी एक वर्षदेखि विभागमा कार्यरत थिए।

'अहिले हामीले अनुसन्धान अघि बढाएका छौं। उनको शव फेला परेको अघिल्लो साँझ नै हत्या गरी छाडिएको देखिन्छ,' उनले भने। प्रहरीले घटनासम्बन्धी १०-१२ जनासँग सोधपुछ गरे पनि कसैलाई पक्राउ नगरेको उनले बताए।