हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो करिव २ महिनापछि नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।सो जंगलमा गत मङ्सिर १३ गतेदेखि लागेको आगो माघ ५ गते पूर्ण नियन्त्रण आएको हो । आगलागीको क्षेत्र ताँचै गाउँबाट करिव १ किलोमिटर पर रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार उक्त आगलागी प्रशासन, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), स्थानीय जनप्रतिनिधिका साथै स्थानीयबासीको सहयोगमा नियन्त्रण गरिएको हो । ‘सो आगलागीबाट करिव ७ सय हेक्टर जंगल नोक्सानी भएको अनुमान गरिएको छ ।’ उनले भने, ‘जंगलमा लागेको आगोले कुनैपनि मानवीय तथा पशुपंक्षिको क्षति भएको छैन तर केही सल्लाका रुखहरू, निगालो घारी नोक्सानी भएको छ ।’
जंगलमा निगालोको विरुवा धेरै रहेका थिए । उक्त जंगल जंगली पशु पन्छी घोरल, डाँफे आदिको बासस्थान रहेको र बासस्थानलाई आगालागीले नोक्सान पु¥याएको सो वडा अध्यक्ष हुमजङ गुरुङले बताए । उनले भने, ‘जंगलमा लागेको आगो करिव २ महिनापछि नियन्त्रण भएको हो, आगोलाई हरियो स्याउँलाले पिटेर निभाइएको हो ।’ मनाङको सदरमुकाम रहेको चामे गाउँपालिका– २ थानचोकको वनबाट सुरु भएको आगो ताचैंमा पुगेको हो । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा आगलागी फैलिएकोले नियन्त्रणका कठिन भएको हो ।उक्त आगलागी नियन्त्रण गर्न करिव २ सय जनाको प्रयासबाट आगो नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । मानिस जान निकै कठिन जंगलमा आगो लागेको थियो । उनले भने, ‘आगलागी क्षेत्र नजिकै रहेको नेपाल टेलिकमको टावर सुरक्षित राख्न सबैको प्रयासबाट सकिएको छ ।’ उनीहरु अग्नी नियन्त्रण औजार हाते औजार बोकेर आगो नियन्त्रणमा लागेका थिए ।
आगो नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेनाको रणदल गुल्म, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङ, ताचैं संरक्षण क्षेत्र ब्यवस्थापन समितीलगायत संघ संस्था तथा स्थानीय समुदायको सहयोग थियो । नासों गाउँपालिका– ८ का वडा अध्यक्ष हुमजङ गुरुङले भने आगो अझै नियन्त्रण गर्न नसकेको भए ताचैं गाउँ जोखिममा पर्ने अवस्थामा आउन सक्थ्यो । ताचैं गाउँमा ६० घरपरिवारको बसोबास रहेको छ । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेसीसहरबाट ५५ किलोमिटर र मनाङको सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ ।










