अभिनेत्री सुरक्षा पन्तकोे फ्ल्याट आधुनिक फर्निचरले सजिएको छैन । पुराना काठलाई पुनः प्रयोगमा ल्याएर आकर्षक फर्निचर बनाएकी छिन् । उनको मास्टर बेडदेखि टेबल र टिभी ¥याकसम्म पुरानै काठबाट बनेको देखिन्छन् । उनले फालिएका काठहरुको गज्जब प्रयोग गरेको देख्न सकिन्छ ।उनले घरमा कुहिने र नकुहिने फोहोर छुट्याएर फाल्नका लागि फरक फरक डस्टबिन राखेकी छिन् । काम नलाग्ने बोतलहरु पनि किचन र सजावटको काममा प्रयोगमा ल्याएकी छिन् । कतिपय बोटलमा फुल लगाएको देखिन्छ । उनको घरमा धेरै सामाग्री रि–युज गरेको देख्न सकिन्छ ।उनी कुशल अभिनेत्री हुन नै, त्यो भन्दा बढी कुशल फोहोर व्यवस्थापक । उनले पछिल्लो १० बर्षदेखि घरमा भित्रिएको फोहोरको स्मार्ट व्यवस्थापन गर्दै आइरहेकी छिन् । उनी सकभर घरमा कमभन्दा कम फोहोर भित्र्याउन प्रयास गर्छिन् । कुहिने र नकुहिने फोहोर कहिल्यै एकै ठाउँ राख्दिनन् । घरमा भित्रिसकेको फोहोरलाई छुट्याएर रि–युज र रिसाइकल गरेर फाल्नै पर्ने फोहोरमात्र नगरपालिकाको गाडीमा हाल्छिन् ।घरमा मात्र होइन,बाहिर बाटोमा फोहोर देख्दा पनि उनलाई उठाएर फाल्ने हुटहुटी जागिहाल्छ उनलाई । कतिपय ठाउँमा उनी फोहोर देखिँदा उठाएर फालेकी पनि हुन्छिन् । उनी आफु कहिल्यै जथाभावी फोहोर फाल्दिनन् । उनी भन्छिन्, ‘मैले विगत एक दशकदेखि बाटोमा फोहोर फालेको छैन्, केराका बोक्रा पनि झोलामा हालेर घरमा ल्याउँछु।’कुशल अभिनेत्रीको पहिचान बनाएकी पन्तका थुप्रै फ्यान फ्लोइङ छन्।धेरै फ्यानलाई थाहा नहुन सक्छ उनी शिभिल इञ्जिनियर पनि हुन्।
शिभिल इञ्जिनियरिङमा स्नातक गरेकी उनले एकीकृत पानी व्यवस्थापनमा स्नातकोत्तर गर्दै छिन् । उनले फोहोरमैला व्यवस्थापन शिर्षकमा थेसिस लेख्दैछिन् । त्यसैले उनी अहिले फोहोर व्यवस्थापनका विषयमा गहिरो अध्ययन गरिरहेकी छिन् । सम्बन्धित विज्ञ तथा सरोकारवालसँग नियमित छलफल पनि गरिरहेकी हुन्छिन् उनी । तपाईं हाम्रो सबैको घरबाट हरेक दिन फोहर निस्किरहेको हुन्छ । बिहान सफाई गरेपनि बेलुकासम्म उस्तै फोहर भइसकेको हुन्छ । दैनिक सरसफाई र फोहर व्यवस्थापन नगरे घर बस्नलायक हुँदैन । अभिनेत्री पन्त फोहोर मैलाको स्मार्ट व्यवस्थापनका लागि सबैभन्दा पहिला आफ्नोमा बानीमा सुधार ल्याउनुपर्ने देख्छिन् । ‘हामीले फोहरलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्छ’ उनी भन्छिन्, ‘अलिकति मात्र पनि फरक ढंगले सोचेर काम गरियो भने घरबाट निस्किने फोहर सजिलै व्यवस्थापन गर्न सकिन्छ, अझ फोहरलाई मोहरमा बदल्न सकिन्छ ।’उनी थप्छिन्,‘फोहोर व्यवस्थापनलाई मान्छेको इज्जतसँग जोड्नुपर्छ, अनिमात्र घरधनी फोहोर व्यवस्थापनमा लाग्छन् ।’समाजमा स्मार्ट व्यक्ति बन्नका लागि फोहोरको स्मार्ट व्यवस्थापन गर्नुपर्ने अभिनेत्री पन्तको तर्क छ । विवेक र चेतना भएको मान्छे जहिल्यै फोहोरमैला व्यवस्थापनमा पनि स्मार्ट हुने उनि बताउँछिन्।
जबसम्म घरधनीले फोहोर व्यवस्थापनलाई आफ्नो सामाजिक इज्जत सँग जोडेर हेर्दैनन् तबसम्म जतिसुकै सम्झाए पनि फोहोर व्यवस्थापनमा नलाग्ने पन्तको बुझाई छ । घरमा जतिसुकै फोहोर भित्र्याउन तयार हुने, कुहिने र नकुहिने फोहोरलाई एकै ठाउँमा राख्ने, फोहोरको रि–युज र रिसाइकल नगर्ने घरधनी कहिल्यै स्मार्ट हुन नसक्ने अभिनेत्री पन्तको तर्क छ ।फोहर दुई किसिमको हुन्छ, कुहिने र नकुहिने । नकुहिने फोहर पनि पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने दुई थरीको हुन्छ । फोहर व्यवस्थापनमा थेसिस गर्न लागिरहेकी उनले फोहरको उचित व्यवस्थापन गर्ने सन्दर्भमा ‘थ्री–आर’ अर्थात् ‘रिड्युस’, ‘रियुज’ र ‘रिसाइकल’ को चर्चा गर्नु आवश्यक रहेको बताउँछिन्।
अभिनेत्री सुरक्षा पन्तका टिप्स उनकै शब्दमाः
# पहिलो चरणः ‘रिड्युस’ अर्थात् फोहोर भित्रिने मुहानमै कमी गरौं
किनमेल गर्दा आफ्नै झोला बोकौँ: एउटा स्मार्ट व्यक्तिले किनमेल गर्दा घरमा कति फोहर भित्रिन्छ भनेर जहिल्यै ध्यान दिएको हुन्छ।हामीले सर्वप्रथम जहाँबाट घरमा फोहर भित्रिन्छ, त्यसको मुहान नै बन्द गर्नुपर्छ । अर्थात्, किनमेल गर्न जाँदा सधैँ आफ्नै झोला बोक्नुपर्छ।

बजारमा तरकारी, सरसामान किन्दा स–साना प्लास्टिकका झोलामा पसलेले सामान दिने गर्छन् । ती प्लास्टिकका झोलाले घरमा फोहर बढाउने काम गर्छन् । स्मार्ट मान्छेले आफ्नै झोलामा राखेर समान घरमा ल्याउँछन् । हामीले किनमेलमा निस्कँदा झोला बोक्ने बानी बसाल्नुपर्छ ।
बढी प्याकेजिङ गरिएको खानेकुरा नकिन्नु बेस : आजभोलि कतिपयले घरको खानाभन्दा बजारको खानेकुरा बढी खाने गर्छन् । त्यसमाथि प्लास्टिकले ¥याप गरेका खानेकुरा । यस्ता खानेकुरा स्वास्थ्यका लागि मात्र नभई पर्यावरणका लागि पनि हानिकारक हुन् । भित्र र बाहिर प्लास्टिकले ¥याप गरिएको खानेकुराले घरमा धेरै फोहर भित्रिन्छ । यदि किन्नै परेमा कम भन्दा कम प्याकेजिङ गरिएका खानेकुरा र अरु सामान किन्नु राम्रो हुन्छ । सकभर घरमै पकाएर खाना खानु स्वास्थ्य र पर्यावरण दुवैका लागि लाभदायक हुन्छ ।
फोहर बढाउने सफ्ट ड्रिंकका बोतल: मिनिरल वाटर, सफ्ट डिं«क आदिबाट पनि घरमा फोहर भित्रिन्छ । कोक, फेन्टा, स्प्राइट, ड्युलगायत पेय पदार्थबाट घरमा फोहर भित्रिरहेको हुन्छ । पेय पदार्थ जति धेरै प्रयोग गरियो, घरमा प्लास्टिकको थुप्रो लाग्दै जान्छ । फोहरमा फोहोर नभित्र्याउन चाहने व्यक्तिले यस्ता पेय पदार्थ कम प्रयोग गर्नुपर्छ ।
अनावश्यक कपडा नकिनौँ : कतिपयले एक पटक लगाएको कपडा अर्को पटक लगाउँदैनन् । धेरै किन्दा घरमा कपडाको खात लाग्न थाल्छ । कोही–कोहीका लागि कपडा व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको हुन्छ । न कसैलाई दिन सकिन्छ, न आफू लगाइन्छ । त्यसैले धेरै नचाहिने कपडामा खर्च गर्नुहुन्न । आवश्यक कपडा मात्र किन्नुपर्छ । ६ महिनादेखि एक बर्षसम्म कुनै कपडा लगाइँदैन भने ती कपडा राख्नुको कुनै औचित्य छैन।माया मारेर अरूलाई दिनु ठीक हुनेछ।
विद्युतीय सामग्री कम भित्र्याउँ : अहिले विश्वकै टाउको दुखाइ बनिरहेको छ– ई–वेस्ट म्यानेजमेन्ट । तपाईं–हाम्रो घरमा पनि बिजुलीका तार, एयरफोन, चार्जर, मोबाइल फोनलगायत विद्युतीय सामानको चाङ हुन्छ । अझ कतिपय बिग्रिएका काम नलाग्ने विद्युतीय सामग्रीहरु पनि फाल्न नसकेर यत्तिकै राखेका हुन्छौँ । एउटाले काम गर्दागर्दै पनि अर्को किनिरहेका हुन्छौं जुन गलत हो । अतिआवश्यक सामान मात्र किन्ने गर्नुपर्छ । घरमा अनावश्यक विद्युतीय सामग्री थुपार्ने बानी हटाउँदै जानुपर्छ ।
# दोस्रो चरणः रियुज’अर्थात् पुनःप्रयोग गरौं
कुहिने–नकुहिनेका लागि छुट्टाछुट्टै डस्टबिन: फोहर भित्रिने स्रोत कम गर्दा गर्दै पनि घरमा फोहर भित्रिरहेको हुन्छ । अब भित्रिएको फोहरको व्यवस्थापनतर्फ लाग्नुपर्छ । कुहिने र नकुहिने फोहर कहिल्यै पनि एकै ठाउँ राख्नुहुन्न । नेपालको सन्दर्भमा घरबाट नकुहिनेभन्दा कुहिने फोहर बढी निस्कन्छ । किचनलाई कुहिने फोहर उत्पादन गर्ने खानी भन्दा पनि हुन्छ।

सुरक्षा पन्तले कुहिने र नकुहिने फोहर संकलनका लागि छुट्टाछुट्टै डस्टबिन राखेकी छिन् ।
पुनः प्रयोग गर्नुहोस्: घरमा कतिपय यस्ता सामग्री हुन्छन्, जसलाई तत्काल पुनः प्रयोगमा ल्याउन सकिन्छ । कतिपय सामग्री दैनिक प्रयोगमा ल्याउन सकिन्छ भने कतिपयलाई घर सजाउन, तरकारी वा फूल लगाउनका लागि प्रयोग गर्न सकिन्छ ।बजारमा सामान खरिद गर्दा राम्रो प्याकेजिङ गरिएका डब्बा वा बक्स आउँछन् । तिनलाई फेरि प्रयोग गर्न मिल्छ । ती डब्बा सफा गरेर भान्छामा प्रयोग गर्न सकिन्छ । चामल किन्दा भित्रिएका बोरामा फूल वा तरकारी लगाउन सकिन्छ । ठूला भाँडामा चामल, दाल, पिठो लगायत राख्न सकिन्छ । प्लास्टिकका बोतलमा पनि फूल वा तरकारी रोप्न सकिन्छ।सजावटको काममा पनि प्रयोग गर्न सकिन्छ । टिन, फलामका भाँडा पनि पुनः प्रयोग गर्न सकिन्छ।


- सुरक्षा पन्तले बजारबाट भित्रिएका सिसी र डब्बाहरुको राम्रोसँग पुनः प्रयोगमा ल्याएकी छिन् ।
प्रयोग नहुने सामान बाँड्नुहोस्: कतिपयको बानी हुन्छ, आपूmले प्रयोग नगर्ने सामान दराजमा थुपारेर राख्ने । हाम्रो लागि अतिरिक्त भएका सामान कसैका लागि आवश्यक हुन सक्छन् । त्यसतर्फ खासै ध्यान दिइँदैन । त्यस्ता सामग्री घरमा थुपारेर राख्नुभन्दा अरूलाई बाँड्नु ठीक हुन्छ ।घरमा प्रयोग नगर्ने पुरानो कम्प्युटर, विद्युतीय उपकरण, फर्निचर छ भने कुनै विद्यालय वा सामाजिक संघसंस्थालाई दिन सकिन्छ ।
# तेस्रो चरणः ‘रिसाइकल’ अर्थात् प्रशोधन गरेर प्रयोग गरौं
कुहिने फोहरको मल बनाउने: कुहिने र नकुहिले फोहर छुट्याएपछि त्यसलाई रिसाइक्लिङ गर्नुपर्छ । कुहिने फोहरबाट मल बन्छ । बाँकी रहेको खानेकुरा, बगैँचाका पातपतिंगरलाई डस्टबिनमा फाल्नु हुँदैन । बोटबिरुवाका पात, घाँस, तरकारी केलाउँदा निस्किने बोक्रा, बाँकी रहेको खाना, अण्डाको बोक्रा लगायतको कम्पोस्ट मल बनाउन सकिन्छ ।कुहिने फोहरबाट दुर्गन्ध आउने हुनाले घरबाट केही दूरीमा मल बनाउँदा उचित हुन्छ।कम्पोस्ट मल बनाएपछि बजारबाट मल किन्दा हुने खर्च पनि जोगिन्छ । यसरी घरबाट दैनिक निस्किने आधाजति फोहर पनि व्यवस्थापन हुन्छ।मल तयार भएपछि फलपूmलका गमला वा करेसाबारीमा हाल्न सकिन्छ । यो मल बजारबाट किनेको भन्दा राम्रो हुन्छ । कुहिने फोहरलाई मल बनाइयो भने फोहर लग्ने गाडी हप्ता दिनसम्म नआउँदा पनि घर गन्हाउँदैन ।
कपडाको अरू सामग्री बनाउने: पुराना च्यातिएका कपडाबाट सिरक, डस्ना वा चकटी बनाउन सकिन्छ । कागज वा प्लास्टिकबाट सजावटका सामग्री बनाउन सकिन्छ । कपडा, प्लास्टिक, फलामलगायत नकुहिने सामग्री रिसाइक्लिङ गर्न सकिन्छ ।
पुराना काठले घर सजाउन सकिन्छ

- सुरक्षा पन्तले पुराना काठहरु पुनः प्रयोगमा ल्याएर बनाएका फर्निचरहरु ।
हामीले काम नलाग्ने भनेर मिल्काएका काठबाट घरलाई आकर्षक रुपमा सजाउन सकिन्छ । पुराना काठबाट फर्निचर बनाउन सकिन्छ । घरका भित्ताहरु पनि पुराना काठ टाँसेर सजाउन सकिन्छ । घरमा जति धेरै काठ प्रयोग भयो त्यति आकर्षक हुन्छ । घरमा काठको धेरै प्रयोग हुन्छ । कतिपय अवस्थामा काठबाट सजावटका सामाग्री बनाउन पनि सकिन्छ ।
टिना फलामबाट सामाग्री बनाऔं: घरमा फोहर बनेर बसेका फलामका टुक्राबाट आकर्षक सामाग्री बनाउन सकिन्छ । फर्निचर, सजावटका सामाग्र, करेसावारी, फुलवारी लगायतमा फलामको काम आउन सक्छ ।
कौशी खेतीमा बढी सामाग्री प्रयोग गरौं

अहिले शहरमा कौषी खेती संस्कृति बन्दै गइरहेको छ । कौषी खेतीका लागि थुप्रै मिल्काइएका सामाग्री प्रयोगमा आउँछन् । फलामको टुक्राबाट हामीले स्ट्यान्ड बनाउन सक्छौं । प्लास्टिकका झोलादेखि डब्बा, बोटल तरकारी वा फूल लगाउनका लागि काम लाग्छन् । काठका टुक्राहरु पनि कौशी खेतीमा काममा आउँछन् । फोहोरबाट मल बनाएपछि कौशी खेतीमा प्रयोग गर्न सकिन्छ अर्थात् कौशी खेती सुरु गरेपछि हामीले कुहिने फोहोर नगरपालिकाको गाडीमा फाल्दैनौँ , मल बनाउनतर्फ लाग्छौं ।
# चौथो चरणः कामै नलाग्ने फोहोर मात्र फाल्नुहोस्:
अन्त्यमा यो सबै गरिसकेपछि हाम्रो घरमा एकदमै कम फोहोर जम्मा हुन्छ त्यो पनि कामै नलाग्ने फाल्नैपर्ने फोहोर मात्र । त्यो फोहोर हामीले नगरपालिकाको गाडीमा लगेर फाल्न सक्छौं । यही नै हो स्मार्ट घरधनीको ओजिलो पहिचान ।यो कुराले दिने आत्मसन्तुष्टीको कुनै मूल्य छैन ।



