नेकपा (एमाले) स्थायी कमिटीको वैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको छ ।
वैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझ सुदृढ गर्दै जनताको घरदैलोसम्म राज्यका निकायहरुको सेवा विस्तार गर्ने र मुलुकको आर्थिक समृद्धिका निम्ति राज्य र जनताको संयुक्त पहलकदमीलाई अघि बढाउन स्थानीय तहहरुमा जननिर्वाचित प्रतिनिधिहरुको उपस्थिति अनिवार्य रहेकोमा जोड दियो ।
त्यसैगरी वैठकले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि आम जनतामा उत्साहको सञ्चार देखापरेको ठहर गरेको छ ।
‘यो ऐतिहासिक आवश्यकतालाई मनन गर्दै लोकतन्त्रको सुदृढिकरण, संघीयताको संस्थागत विकास र जनतालाई अधिकारसम्पन्न बनाउन आउने असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सबै राजनीतिक दललाई उत्साहका साथ सहभागी बन्न बैठकले आह्वान गरेको छ,’ वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको निर्वाचनको अनुभवहरुलाई समेत ख्याल गर्दै हालै तीन राजनीतिक दलका बीचमा निर्माण भएको सहमती र प्रमुख प्रतिपक्षी दलको नाताले हाम्रो पार्टीले उठाउँदै आएका सवालहरुलाई समेत ध्यान दिंदै दोश्रो चरणको निर्वाचन निस्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न र सम्पूर्ण मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने अवसर सृजना गर्न बैठकले नेपाल सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गरेको छ ।’
वैठकले प्रदेश र मातहत कमिटीका सिफारिस तथा राय–सल्लाहका आधारमा निम्नानुसार उम्मेदवारहरुको निर्णय गरेको छ
१. विराटनगर महानगरपालिका–प्रमुख – विनोद ढकाल (उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय–सल्लाहको आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक कमरेड भिम आचार्यलाई दिइएको छ ।) ढकाल एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष हुन् ।
२. धरान उपमहानगरपालिका– प्रमुख – तारा सुब्बा, उपप्रमुख – मञ्जु भण्डारी
३. इटहरी उपमहानगरपालिका–प्रमुख – द्वारिकलाल चौधरी, उपप्रमुख – लक्ष्मी गौतम
बैठकले हालै राष्ट्रिय जनता पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका समिम मियाँ अन्सारीलाई पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको छ ।



