विराटनगर : मोरङको बेलबारीमा छिमेकीको छुरा प्रहारबाट शनिबार राति एक युवक गम्भीर घाइते भएका छन्। बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउले छुरा प्रहार गर्दा छिमेकी २४ वर्षीय दिनेश दाहाल घाइते भएका हुन्।

आफूलाई गालीगलौज गरेकोभन्दै उराउले विवाद निकालेर दाहालको पेटमा छुरा प्रहार गरेको पाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको पेटबाट आन्द्रा बाहिर निस्किएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको चिन्ताजनक अवस्थामा विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले अवस्था गम्भीर रहेकोभन्दै तत्काल पेटको शल्यक्रिया गर्न सुझाव दिएको ढकालले बताए।

छुरा प्रहारपछि फरार भएका उराउलाई ढकाल नेतृत्वको प्रहरी टोलीले घटना भएको दुई घण्टाभित्रै खोर्सानेबाट नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनले आफूमाथि गाली गरेका कारण छुरा हानेको प्रहरीलाई बताएका छन्। उराउविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी ढकालले दिए।