काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले जानकारी दिए। आजको बैठकमा मुख्यमन्त्री राईविरुद्ध आफुहरुले दर्ता गराएको प्रस्तावमाथि छलफल हुने आङ्बोले बताए। बैठकका एजेन्डा तय गर्न बिहान ११ बजेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदहरूले मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। नेकपाको केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री राईले प्रचण्ड –नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई बर्खास्त गरेपछि प्रचण्ड – नेपाल समूहका तीनै जना मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।