बागलुङ, २८ माघ (रासस) : कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उहाँ कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुनुहुन्छ ।गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ । सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लाग्नुभएका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहनुभएको छ ।उहाँकोमा ३२ घार सेरेना जातका मौरी छन् भने ५०० बोट कागती । कागतीका १०० बोटले फल दिन थालेका छन् । मह पनि काढ्ने बेला हुँदैछ । खरेलले तरुल, टिमुर र बेसारको पनि व्यावसायिक खेती गर्दै आउनुभएको छ । “१०० झाल तरुल र १०० बोट टिमुर पनि छ”, उहाँले भन्नुभयो ।दुई वर्षअघिसम्म व्यावसायिक बाख्रापालन गर्नुभएका खरेलले आमा बिरामी भएर घरमा बढी समय दिनुपर्ने भएपछि त्यसलाई छाडेर कृषितिर लागेको सुनाउनुभयो ।“बाख्रापालनबाट पनि राम्रै भइरहेको थियो, अहिले मौरीपालन र कागती खेतीमा हात हालेको छु”, उहाँले भन्नुभयो । नयाँ व्यवसायमा झण्डै रु सात लाख लगानी भएको खेरलले बताउनुभयो ।उहाँले ‘गलकोट कृषि तथा पशुपक्षी उत्पादन फार्म’ दर्ता गरेर व्यवसाय अगाडि बढाउनुभएको छ । सेवानिवृत्त जीवनलाई उद्यममा लगाउने सोचका साथ कृषिलाई रोजेको खरेलको भनाइ छ ।

“परम्परागत खेतीले मात्र केही हुँदैन, कृषिको व्यावसायिक उत्पादनतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले नयाँ पुस्तालाई कृषि र पशुपालनमार्फत गाउँमै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश पनि आफूले दिन चाहेको उल्लेख गर्नुभयो । उत्पादनमा जोडिनुअघि खरेलले २० वर्षसम्म छिमेकी गाउँ रिघाको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गर्नुभएको थियो । पढाइमा स्नातक खरेलमा कृषिबाटै आत्मनिर्भर बन्ने अठोट छ ।उहाँसँग निकट भविष्यमै व्यावसायिक भैँसीपालन थाल्ने योजना छ, जसका लागि गोठ निर्माणको कामसमेत अगाडि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले उत्पादनको बजारीकरणमा पनि कुनै समस्या छैन । पारिलो ठाउँ, उब्जाउ जमिन र उपयुक्त हावापानीका कारण छिसगाउँमा कृषि उत्पादनको राम्रो सम्भावना छ ।प्रकृतिले नठगे र कुनै बाधा नपरे खरेलले यो वर्षदेखि मह, कागती, तुरुललगायत कृषि फसल बेच्न थाल्नुहुनेछ । उहाँको कृषि व्यवसायमा पत्नी सीताको दरिलो साथ छ । सात सन्तानमा कान्छा छोराबाहेक सबैको बिहेबारी भइसकेको खरेलले सुनाउनुभयो । “परिवार धान्न समस्या छैन, दुःख गरे सफल भइन्छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर