दशैंको टीका लगाइदिँदा शौर्यं शान्तनवे अर्थात् शन्तनुपुत्र भीष्मको जस्तो शौर्य होस् भनेर आशीर्वाद दिने गरिन्छ । कर्मवादी भीष्म आफ्नो भीषण प्रतिज्ञाका कारण जति चर्चित छन् बहादुरीका कारण समेत उत्तिकै चिनिन्छन् । महाभारत युद्धमा आफ्नो पितालाई दिएको वचनका कारण हस्तिनापुर राजगद्दीको सुरक्षाका लागि भीष्म कौरवका तर्फबाट युद्ध गरे ।  आफ्नो शरीर कौरवका पक्षमा भए पनि भीष्मको आशीर्वाद भने पाण्डवहरुलाई थियो ।कथा अनुसार महाभारत युद्धमा भीष्म १० दिनसम्म कौरव पक्षका सेनापति थिए । उनले हरेक दिन पाण्डव पक्षका १० हजार वीरहरुको बध गर्दथे । यसरी भीष्मबाट ठूलो संख्यामा आफ्ना सैनिकहरु मारिन थालेपछि पाण्डव पक्ष भीष्म पितामहलाई कसरी युद्धबाट पन्छाउने भनेर उपाय खोज्न थाले । श्रीकृष्णको सल्लाहअनुसार पाण्डवहरु नवौं दिनको युद्धपछि उनको मृत्युको कारण सोध्न गए । भीष्मले आफ्नो मृत्युको उपाय बताइदिए ।

भोलिपल्ट अर्थात् युद्ध सुरु भएको दसौं दिन भीष्मले ठूलो संख्यामा पाञ्चाल तथा मत्स्य सेनाको संहार गरे । इच्छामृत्युको वरदानप्राप्त भीष्मलाई युद्धक्षेत्रबाट हटाउनका लागि पाण्डवहरुले महारथी शिखण्डीलाई अगाडि लगाई भीष्मसँग युद्ध गर्न गए । आफ्ना अगाडि खिण्डीलाई देखेपछि भीष्मले शस्त्रास्त्र राखिदिए किनभने उनी कहिल्यै पनि स्त्रीजातिसँग युद्ध गर्दैनथे । उनलाई शिखण्डी महिलाका रुपमा जन्म लिएर पछि अरुसँग पुरुष चिह्न साटेर पुरुष बनेका हुन् भन्ने थाहा थियो ।भीष्मले कृष्णमाथि युद्ध धर्मको विरुद्ध आचरण गरेको आरोप लगाउँदै महिलामाथि प्रहार नगर्ने भन्दै आफ्नो धनुष भुइँमा राखिदिए । कृष्णले पनि भीष्मलाई सदैव आफूद्वारा निर्धारित मानदण्डलाई नै धर्म मानेर मनोमानी आचरण गर्ने र धर्मको अवहेलना गर्ने आरोप लगाए । स्त्रीका रुपमा जन्म लिए पनि पिताबाट छोरा मानेर पालिएका शिखण्डीसँग अहिले यक्षद्वारा प्रदान गरिएको पुरुष लिंग भएको र शिखण्डीलाई भीष्मले महिला मान्नुको कुनै तुक नभएको बताए ।

शिखण्डीले भीष्ममाथि लगातार प्रहार गरे तर ती सबै वाण भीष्मको छातीको कवचमा ठक्कर आएर भुइँमा झर्थे । शिखण्डीको वाणमा भीष्मको छाती छेड्नसक्ने तागत थिएन । त्यो देखेपछि अर्जुनले शिखण्डीका पछाडि बसेर भीष्ममाथि प्रहार गर्न लागे । अर्जुन र शिखण्डीको वाण एकै रंगका थिए । यसकारण भीष्मले अर्जुनको वाण चिन्न सकेनन् तर उनलाई ती वाण शिखण्डीको नभएर अर्जनकै शुन् भन्ने प्रबल शंका थियो । यसरी अर्जुनले भीष्मको शरीर वाणद्वारा छियाछिया बनाइदिए तर पनि पिता शन्तनुले दिएको इच्छामृत्युको वरदानका कारण भीष्मको मृत्यु भएन । उनी हातमा तरवार लिएर रथबाट ओर्लिए तर वाणैवाणले चाल्नोजस्तो भएकाले उनको शरीर सन्तुलित हुन सकेन । सन्तुलन राख्न नसकी भीष्म पछारिए र उनी वाणको ओछ्यान अर्थात् शरशैयामा सुते ।

भीष्म ढलेको खबर डढेलोझैं फैलियो । यसबाट कौरव सेनामा हाहाकार मच्चियो । दुवै पक्षका सैनिक एवं सेनापतिहरु युद्ध छोडेर भीष्मलाई हेर्न आए । यस्तो अवस्थामा भीष्मले आफ्नो टाउको भुइँमा लत्रन थालेकाले तकिया मागे । उनको बोली भुइँमा खस्नु मात्र के थियो राजाहरुले अने किसिमका मूल्यवान् तकियाहरु लिएर आए । तर भष्मिले मुस्कुराउँदै त्यस्तो तकिया आप्mना लागि शोभाको कुरा नहुने बताउँदै अर्जुनसँग तकिया मागे । पितामहको आज्ञा पाउनेबित्तिकै अर्जुनले भीष्मको निधारमा तीन वाण हाने जुन वाण उनको निधार छेडेर भुइँमा गाडिए र टाउको लत्रन नदिई तकियाको काम गरे । यसपछि भीष्मले पानी खान मागे । अर्जुनले तत्कालै एक वाण भुइँमा हानेर अमृतसमान शीतल एवं सुगन्धित  पानी उत्पन्न गरी त्यसको धारो भीष्मको मुखमा पर्ने व्यवस्था मिलाइदिए ।

शरशैयामा सुत्दाको कष्टबाट मुक्त हुन भीष्मले प्राण त्याग्नुपथ्र्यो तर उनले त्यसो गरेनन् किनभने त्यतिबेला सूर्य दक्षिणायन थिए । सूर्य उत्तरायण भएको बेलामा प्राण त्याग गर्दा सद्गति मिल्ने र पुनः आफ्नो लोकमा गएर मुक्त हुन सकिन्छ भन्ने कुरा भीष्मलाई भलिभाँती थाहा थियो । त्यसकारण उनी शरशैयामै लेटेर सूर्य उत्तरायण हुने समयको प्रतीक्षा गर्न थाले । उनलाई इच्छामृत्यको वरदान प्राप्त थियो तसर्थ उनी आफूले चाहेको खण्डमा मात्रै मर्न सक्थे ।भनिन्छ, भीष्मलाई उपचार गर्नका लागि शल्य चिकित्सकको टोली ल्याइएको थिए । तर भीष्म उनीहरुलाई फर्काइदिन्छन् र भन्छन्, अब मेरो अन्तिम समय आएको छ । तसर्थ उपचार गर्नु व्यर्थ छ । शरशैया नै मेरो चिता हो । म केवल सूर्य उत्तरायण हुने समयको प्रतीक्षा गरिरहेको छु । भीष्मको यो कुरा सुनेर उनलाई भेट्न आएका राजागण, सेनापति, बन्धुबान्धव तथा योद्धागण आआप्mना छाउनीमा फर्कन्छन् । भोलिपल्ट उनलाई भेट्न कुलका कन्या, महिलावर्ग तथा योद्धाहरु आउँछन् र चुपचाप भीष्मलाई हेरेर बस्छन् ।

भीष्मले दुर्योधनलाई युद्ध त्याग गरेर वंशको रक्षा गर्न सुझाव दिन्छन् । उनी अर्जुनको प्रशंसा गर्छन् अनि दुर्योधनलाई युद्ध नगर्न सल्लाह दिन्छन् । तर दुर्योधन मान्दैनन् । युद्ध चलिरहन्छ । भीष्म हरेक दिन युद्ध रोकेर सन्धि गर्न सल्लाह दिन्छन् तर दुर्योधन त्यो कुरा मन पराउँदैनन् । भीष्म शरशैयामा सुतेपछि पनि आठ दिनसम्म युद्ध चलिरहन्छ । दुर्योधनको हार हुन्छ ।युद्ध सकिएपछि युधिष्ठिर हस्तिनापुरका राजा बन्छन् । उनी भीष्मकहाँ आएर आफ्नो कारण पितामहको यस्तो अवस्था भएको तथा वंशनाश भएकाम घोर दुःख व्यक्त गर्छन् । श्रीकृष्णले भनेपछि भीष्मले शरशैयाबाटै युधिष्ठिरलाई राजधर्म, मोक्षधर्म, आपद्धर्म आदिका विषयमा मूल्यवान् उपदेश दिन्छन् । यो उपदेशलाई सुनिसकेपछि युधिष्ठिरको शोक नाश हुन्छ । मनको ग्लानि तथा पश्चात्ताप हट्छ ।

सूर्य उत्तरायण भएपछि पाण्डवहरु श्रीकृष्ण, आफ्नो नातासम्बन्धी, पुरोहित तथा अन्य मानिसहरु लिएर भीष्मकहाँ पुग्छन् । भीष्म सबैसँग भन्छन्, यो शरशैयामा सुतेको आज ५८ दिन भएको छ । मेरो भाग्यले माघ महिनाको शुक्ल पक्ष आएको छ । अब म शरीर त्याग गर्न चाहन्छु । यति भनेर भीष्मले प्रेमपूर्वक सबेसँग विदा मागेर प्राण त्याग गरे ।सबै मानिस भीष्मको शोकमा रुन लागे । पाण्डवहरुले चन्दनको चितामा राखेर उनको शव दाहसंस्कार गरे ।शिखण्डी पहिलो जन्ममा काशीराजपुत्री अम्बा थिइन् । भीष्मले उनलाई दुई बहिनी अम्बिका र अम्बालिकासँगै आप्mना भाइ विचित्रवीर्यका लागि हरण गरेर ल्याए । अम्बा शाल्वराजलाई प्रेम गर्थिन् । हस्तिनापुर आइपुगेपछि उनले त्यो कुरा भीष्मसँग भनिन् । भीष्मले उनलाई शाल्वराजकहाँ पठाइदिए । तर अर्काले हरण गरेर लगिएकी कन्यासँग आफू विवाह गर्न असमर्थ भएको भन्दै अम्बालाई फर्काइदिए । अम्बा फेरि भीष्मकहाँ फर्केर आफूसित विवाह गर भनेर आग्रह गरिन् । भीष्मले आफूले पहिल्यै भाइका लागि भनेर हरण गरेको र कुनै हालतमा पनि व्रह्मचर्यको प्रतीज्ञा नतोड्ने बताए ।

भीष्मको तिरस्कारपछि तिलमिलाएकी अम्बा परशुरामको शरणमा पुगिन् । परशुराम भीष्मका गुरु थिए । उनले अम्बालार्य पत्नीका रुपमा अँगाल्न आदेश दिए तर भीष्मले मानेनन् । गुरु चेलाका बीच २३ दिनसम्म युद्ध भयो । युद्धमा परशुराम पराजित भए । यसबाट निराश भएकी अम्बा महादेवको आराधना गर्न थालिन् । महादेवले उनलाई अर्को जन्ममा भीष्मको मृत्युको कारण बन्नसक्ने वरदान दिए । यसपछि अम्बाले अग्निमा प्रवेश गरेर शरीर त्याग गरिन् र पाञ्चाल नरेश द्रुपदका घरमा जन्म लिन पुगिन् । द्रुपदको घरमा छोरीका रुपमा जन्मिएकी शिखण्डीलाई छोरा भनेर पाल्न थालियो । त्यही रुपमा उनी हुर्किए ।जवान भएपछि एक राजकुमारीसँग उनको विवाह भयो । विवाहपछि उनी आत्तिए । आफ्नो भेद खुल्नसक्ने डरले उनी मर्न भनेर जंगलमा पुगे । त्यहाँ उनको भेट एकजना यक्षसँग भयो । शिखण्डीको कथाव्यथा सुनेर यक्षको मन पग्लियो । यक्षले एक वर्षका लागि लिंग साट्ने प्रस्ताव ग¥यो । यसपछि शिखण्डी पुरुष भएर खुसी हुँदै घर फर्किए । उता यक्षका मालिकले यो कुरो थाहा पाएर रिसाए । उनले शिखण्डीको जीवन छउन्जेल आफ्नो पुंसत्व फिर्ता लिन नसकोस् भनी यक्षलाई श्राप दिए । शिखण्डीलाई काइदा भयो । यसपछि उनी जीवनभर पुरुष भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय