सामान्यतया पत्नीले पतिलाई केही नभन्दा पतिले के गर्छ ?नातागोता र साथीभाइलाई सोधखोज गर्छ अनि केही लागेन भने प्रहरीलाई खबर गर्छ ।तर भारतको छत्तीसगढमा एक व्यक्तिकी पत्नीले केही नभनी हिँडिदिँदा तनावमा आएर पति बिजुलीको खम्बामा चढेको छ ।बलरामपुरमा मानिसहरूले उक्त व्यक्तिलाई खम्बामा चढेको देखे । ऊ त्यहाँबाट लड्ला र चोटपटक लाग्ला भनी मानिस आत्तिए ।
उसलाई मानिसहरूले धेरै सम्झाइबुझाइ गरे अनि पत्नी खोजेर ल्याइदिन्छौं समेत भने । तर उसले कसैको पनि कुरा सुनेन ।त्यसपछि मानिसहरूले प्रहरी बोलाए । प्रहरीले उसलाई खम्बाबाट झार्नका लागि कोशिश गर्यो ।घटना बिहीवार भएको हो । प्रहरीका अनुसार, उक्त व्यक्ति रक्सीको नशामा चुर थियो ।त्यस्तो अवस्थामा पत्नी नभेटिँदा ऊ चिन्तित थियो । दिमागले काम नगरेपछि ऊ खम्बामा चढ्यो । उसलाई क्रेनको सहायतामा बल्लबल्ल तल झारियो ।कतिपय मानिस चाहिँ उसको हर्कत देखेर हाँसेको हाँस्यै भए ।प्रहरीले उक्त व्यक्तिलाई खम्बाबाट झारेर चौकी लग्यो । सोधपुछपछि उसलाई छाडिदियो ।पत्नी घर फर्किन् कि फर्किनन् भन्ने केही खुलेको छैन ।










