महादेवा ३ सप्तरीकी मञ्जु सरदार बिहिबार हस्याङ फस्याङ गर्दे पालिकाको वडा नम्बर ३ स्थित बथनाह पुगिन्।बिहानको चुलो धन्दा सकेर बथनाह पुग्दा ९ बजिसकेको थियो। वडाध्यक्षले राहत लिन आउनू भनेकाले उनी रित्तै पुगेकी थिइन्। ‘सानो पोको होला, के बोरा बोकेर जानू’ भन्दै उनी त्यतिकै गएकी थिइन्। तर उनको अनुमानविपरित राहत बाँडिरहेको रहेछ।आफूले उचाल्ने नसक्ने राहत सामग्री थाप्दै उनले भनिन्, ‘होली पावन हमसव परिवार मिलकर खुसी साथ मनावैछी,’ आफूले पाएको राहत अगाडि उभिएकी सरदारले भनिन्, ‘गरिबका पनि दिन आउने रहेछन्।’बोक्न नसक्ने राहत पाउँदा दंग परेकी उनले भनिन्, ‘ओ हो मलाई राहत यति धेरै हुन्छ भनेको भए बोरा लिएर आउँथे नि?’
सरदारजस्तै सयौंले गाँउमा पुरूषसरह कामको ज्याला पाउन सकेका छैनन्। पालिका अध्यक्ष दिपक कुमार यादवका अनुसार गरिबी, अशिक्षा र मालिककको हेपाहा प्रवृत्तिका कारण महिलाले पुरूष सरह ज्याला पाउन सकेका छैनन्। ‘मालिकले दिएको पैसामा राजी नभए काम पाईँदैन। काम पाईएन भने परिवारले पनि माम पाउँदैन। त्यसैले जति पैसा दिन्छ त्यतिमै काम गर्नुपर्ने वाद्यता उनीहरूको छ। बर्खामा इटा भट्टा बन्द हुन्छ। त्यो बेला काम नपाएर भोकै बस्नुपर्ने हुन्छ’, उनले भने।भोकरी सरदारको पनि पारिवारिक पीडा मन्जुको जस्तै छ। वडा नम्बर ३ की उनी कृषी मजदुर हुन्। बस्तीमा साहुले काम दिए चुलो बल्छ। नत्र भोकै। ‘बस्तीमा काम पाइन भने मागेर छोरा छोरीलाई ख्वाउँछु’, उनले भनिन्।उनले पाएको राहत लगेर राख्ने पनि छैन। ‘ घर छैन, जहाँ सुत्छु त्यहीँ सिरानीमा च्यापेर सुत्छु,’ उनले भनिन्।
सरदार परिवार त महादेवा गाँउपालिकाका उदाहरण मात्र हुन्। पालिकाका ६ वटै वडामा सरदारजस्ता परिवार २ हजार १ सय २ छन्। ग्रामिण पुननिर्माण संस्था (आरआरएन) को तथ्याङ्क अनुसार सप्तरीका १७ वटा पालिकाभन्दा हरेक कारणले महादेवा गाँउपालिका पछाडि परेको छ।वडा नम्बर ६ का वडा अध्यक्ष उमेश यादवका अनुसार पूर्व-पश्चिम राजमार्ग दक्षीण र भारदह-राजविराज सडक उत्तरका बस्ती अति कम विकसित बस्ती हुन्।‘शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विजुली, खानेपानीलगायतका सुविधा महादेवा गाँउपालिकाले स्थानीय सरकार गठन भएपछि मात्र पाउन थालेका हुन्’, उनले भने।कोरोना महामारीका कारण लकडाउन हुँदा हप्तौ दिनसम्म उनीहरू भोक भोकै सुत्नुपरेको थियो। दैनिक काम गरेर कमाएको पैसाले बिहान बेलुकाको छाक टार्ने परिवारका लागि लकडाउन पीडादायी बन्यो।३ हजार २ सय घर धुरी रहेको महादेवा गाँउपालिकामा अधिकांश दलित, सिमान्तकृत र अति विपन्न वर्गका समुदायको बसोबास रहेको अध्यक्ष यादवले बताए।
उनीहरूको दुःखमा आरआरएनको सहयोगले स्थानीय हर्षित देखिन्थे। आरआरएनले प्रतिपरिवार १० हजार ३ सय ५० मुल्य बराबरको खाद्य र गैर खाद्य सामग्री राहत लिएर आएको थियो।चामल, दाल, प्याज, आलु, चिनी, अण्डा, साबुन, सरफ, टुथपेष्ट, तेल, सेनिटरी प्याड। आँटा, सेम्फु, विद्यार्थीका लागि पोसाक, ब्लांकेट, खाट, आलुलगायतका सामग्री प्रदान गरेको छ।जिल्लाका १७ स्थानीय तहमध्ये महादेवा गाँउपालिका विपन्न र दलित समुदायले भरिएको पालिका हो।लकडाउनका बेला रोजगार खोसिएका, रोगले च्यापेर उपचार गर्ने पैसाको अभावमा मृत्यु भएकाको परिवार राहत पाउने लाभग्राहिको सूचीमा परेको आरआरएनका परियाजना संयोजक दुर्योधन अधिकारीले बताए।
पालिकामा अधिकांश जग्गाविहिन दलित समुदायको बसोबास छ। यहाँका अधिकांश स्थानीयको आम्दानीको स्रोत ज्याला मजदुरी नै हो। काम भएका बेला काम गर्ने र नभएका बेला बाँकी बक्यौदा गरेर परिवारको गुजारा चलाउने देखिएकाले महादेवा गाँउपालिका आरआरएनको छनोट परियोजनामा परेको हो।संस्थाका परियोजना व्यवस्थापक द्रोण उप्रेतीका अनुसार लकडाउनका बेला रोजगार खोसीएका, रोगले च्यापेर उपचारमा लाखौं खर्च गरेका आरआरएनले पालिकाका ६६ प्रतिशत स्थानीयलाई राहत सामग्री प्रदान गरेको छ।संस्थाले महादेवा गाँउपालिकामा मात्र २ करोड १७ लाख ६६ हजार ५०० रुपैयाँको राहत वितरण गर्ने कार्यक्रम संयोजक दुर्योधन अधिकारीले बताए।‘हाम्रो पालिकामा आरआरएनले यत्रो सहयोग लिएर आउनुभएको छ,’ लाभग्राहीसँग अनुरोध गर्दे उनले भनिन्, ‘उहाँहरूलाई हामीले विवाद रहित रचनात्मक सहयोग गरेर फेरि अरू कार्यक्रम भित्र्याउन बल पुग्ने गरी सहयोग गर्नुपर्छ।











