२८ फागुन, काठमाडौं । भक्तपुर प्रहरीले ४२ लाख बढी अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बैतेश्वर–६ घर भई हाल भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय बिनोद तामाङ छन् ।उनीहरु दुवैलाई शुक्रबार सम्पति शुद्धीकरण विभाग पुल्चोक, ललितपुरमा पठाइएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसरमा कार्यरत प्रहरी निरीक्षकद्वय शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन भएका थिए । सो टोलीले बिहीबार बिहानपख २ बजेतिर पेप्सीकोलाबाट सानोठिमी तर्फ आउँदै गरेको बा २१ च ३८३९ नं.को नीलो रंगको कारको डिक्कीबाट २७ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार कार चालक तामाङले दिएको बयानको आधारमा प्रहरीले बालकोटमा डेरा गरी बस्ने घिमिरेको खोजी सुरु गरेको थियो । पेप्सीकोलामा फेला परेका घिमिरेले उक्त रकम आफ्नो भनी स्वीकार गरेका थिए । बालकोटस्थित डेरामा समेत खानतलासी गर्दा प्रहरीले थप १५ लाख ३० हजार नगद बरामद गरेको थियो ।घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।यसैगरी ९ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक र एक लाख २५ हजार रुपैयाँको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चेक, नेपाल बैंक लिमिटेडको ९ लाख ९९ हजार रुपैयाँको चेक र महालक्ष्मी विकास बैंकको १५ लाख रुपैयाँको चेक र मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर बरामद भएको छ ।
सुमन घिमिरेविरुद्ध २०७४ साल कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा मुद्दा दर्ता भएको समेत पाइएको भक्तपुर प्रहरीले जनाएको छ ।साथै २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।










