झापा । मृतकका परिवारलाई ११ लाख रुपैयाँ दिइने सहमति भएपछि झापाको कमल गाउँपालिकामा शनिवार उत्पन्न तनाव साम्य भएको छ ।क्याम्पा बजार नजिक शनिवार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना१ क ६१६५ नम्बरको टिपरले मोटरसाइकल लाई ठक्कर दिँदा शिबसताक्षी नगरपालिका वडा न.४ डांडागाउँ बस्ने वर्ष २० का सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।ठक्कर पश्चात् चालकले पुनः टिपर अगाडी बढाएर दुर्घटना गराएको भन्दै स्थानीयवासी आक्रोशित थिए । मादक पदार्थ सेवन गरी टिपर चालकले सवारी चलाएको स्थानीयहरूको आरोप लगाएका थिए ।स्थानीय प्रशासन, टिपर मालिक र मृतक परिवारका तर्फबाट स्थानीय जनप्रतिनिधि सम्मिलित छलफलले कन्स्ट्रक्सनका तर्फबाट क्षतिग्रस्त मोटरसाइकल बनाइदिने, मृतकका परिवारलाई ११ लाख रुपियाँ दिने र स्थानीय एउटा घरमा पुगेको क्षति बराबरको पुनर्निर्माण गरिदिने सहमति भएपछि उत्पन्न तनाव साम्य भएको छ ।
आइतबार बिहानदेखि क्याम्पा सडकमा सवारी आवागमन सहज भएको छ । यस अघि सो सडकमा कुनै पनि सवारी साधन चलेका थिएनन् । स्थानीयको अवरोधका कारण सो सडकका यातायात बन्द भएको थियो ।कर्खाबाट निर्माण सामग्री लिएर कमल गाउँपालिका २ को क्याम्पा बजार तर्फ लाग्दै गर्दा उक्त दुर्घटना भएको थियो । टिपर हुलाकी राजमार्ग अन्तरगत पर्ने रतुवामाइ -कनकाई सडक खण्डको सडक निर्माणको जिम्मा पाएको मोती दाना कन्स्ट्रक्सन कम्पनीको रहेको जनाइएको छ । घटना थाहा पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको थियो ।










