गीताले भनिन्,' घरमा खाने कुरा छैन, बारीमा निस्केर गर्न सकिँदैन दया देखाउन कहाँ जाने यस्तो बेलाको राहत घरमा भगवान् आएझैँ नै भयो ।' गीताको ७ बर्से एक छोरी समेत छन् । छोरीलाई खुवाउन, पढाउन सबैभन्दा बढी चुनौती भएको उनी बताउँछिन् । पढ्ने बेला हो न राम्रो गरी पढ्ने वातावरण भयो न राम्रो मीठो खाऊ नै। कोरोनाले भित्रबाट बन्द भएको दैलोमा एक्कासि भगवानकै रूपमा सहयोग आयो । यो सहयोग राहत महिना दिनलाई मुहारमा हाँसो ल्याउने औषधि त भयो । अन्य स्थानबाट आएर ज्याला मजदुरी गरेका र स्थायी रूपमा बसिरहेका व्यक्ति जो कोरोनाको कहरमा आम्दानी नहुँदा छाक टार्न मुस्किल पर्न गयो । कोरोनाका कारण जब लकडाउन भयो सबैलाई घरमा बस्न प्रशासनले निर्देशन दियो । दैनिक काम गरेर परिवारका रोगी वृद्ध र सन्तानको गर्जा टार्नुपर्ने जिम्मेवारी गीतामा थियो ।
रामपुर नगरपालिका ५ की डिलमाया घर्तीको समस्या पनि उस्तै छ । कोरोना भाइरस र लकडाउनले कमाई खाने बाटो नै बन्द भए पनि उनको अवस्था पनि झन् बिग्रँदै गयो । डकर्मी काम गरेर गुर्जो टार्ने श्रीमान् पनि ३ वर्ष अघि उनले गुमाइन्। अहिले १३ बर्षे छोरी उनको सहारा हुन् । छिमेकीकोमा गुहार्न पर्ने घर्तीको अवस्था लकडाउन पछि झन्-झन् खस्किँदै गयो । यस्तो अवस्था र घरमा खाने अन्नको जोहो गर्न समेत कठिनाइ बनिदिँदा पाएको राहत नै सर्वेसर्वा बनेको डिलमायाले बताइन्। आम्दानीको स्रोत कोरोना भित्रिएसँगै हराएको थियो । केही दिन घरबाट निस्कन पाइएन, चुलो र कोठामा सीमित हुँदा हुँदै दिन चर्या असहज भयो उनले भनिन्-जीवन चलाउन हम्मे हम्मे भो ।रामपुर नगरपालिका ४ का घनश्याम कुमालको पनि आम्दानीको स्रोत कोरोनाकै कारण गुम्यो । आफू सहित अपाङ्गता भएका छोराको जिम्मेवारी पनि उनमै छ । उनको आफ्नो बस्ने थलो पनि छैन सुकुम्वासीमा बस्ने उनी लकडाउन खुलेपनी पहिले जस्तो काम पाउन सकेनन् । उनको घरको हालत यस्तो छ । कोरोनाको चपेटामा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्छु भन्दा पनि पाउन नसक्ने अवस्थाले उनको घरमा दिनप्रतिदिन झन् स्थिति नाजुक हुँदै गयो । आम्दानीको एक मात्र घरको धरोहर उनी मात्रै हुन् । 'आफ्नो पिर र मर्का त छदै थियो घर परिवारका सदस्यलाई समेत न बस्नु न हिँड्नु नै बनायो ।' कोरोनाको कारण के खाऊ के लगाऊ, के गरी दिन काटौँ भन्ने पिरले उनीहरूलाई छाडेन ।यस्तै समस्या परेको बेला उनीहरूलाई तत्कालको लागि राहत स्थानीय तहले दियो ।
दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका रामपुर ४ का सम्झना दमै र नरवीर खण्डलुकलाई यस पटक जीवनकै कठिन मोडमा गुज्रिएको अनुभूति भयो । परिवारको हातमुख जोड्न उनी श्रीमान् श्रीमती दिनरात काममा खटिनुपर्छ ।झन्डै ९ महिनाको समय जीवन चलाउन सकस भयो । जीवनमा यस्तो होला कहिल्यै सोचिएन । केही न केही काम पाउँथ्यौँ, एक दिन काम नपाउँदा पाइएन भन्ने हुन्थ्यो । बिहान दिउसो नपाए पनि साझ पख काम पाइन्थ्यो खान त पुगेको थियो । यसपाली चौपट भयो- खण्डलुकले भने ।सामान्य कृषि पेसा गरिरहेका परिवार कोभिडकै कारण अहिले सानो ऋण लगानीमा पसल सञ्चालन सुरु गरेका छन् । यो पटक दुख पायौँ अर्को पटक विपद् आए आफै राहत बाँड्न जाने इच्छाले काम गर्नुपर्छ भन्ने हेतुले कुखुरा पालन थालेको रामपुर ५ का दशरथ क्षत्रीको अनुभव छ । दशरथ जस्तै रामपुर १० का भूपराज बस्याल पनि मौरी पालन र तरकारी खेतीमा लागेका छन् । कोरोनाको कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका उनीहरु जस्तै दर्जनौँ युवा अहिले स्थानीय तहको सहयोगमा आयआर्जनमा लागेका छन् ।
रामपुर नगरपालिकाले कोरोनाका कारण रोजगार गुमाउन पुगेका युवालाई युवा स्वरोजगार कार्यक्रम यस वर्ष पनि राखेको छ । कोरोनाको महामारीमा विदेशबाट फर्केकाहरूलाई मध्यनजर गर्दै सुरु गरेको युवा रोजगार कार्यक्रम अन्तर्गत बैङ्कबाट रकम झिकेर कुनै व्यावसायिक काम गर्न सक्नेछन् । बैङ्कको त्यस्तो ऋण नगरपालिकाले तिरिदिनेछ । यस वर्ष ९३ जना त्यस्ता युवाले निवेदन दिएको नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिए । यो समन्वय भएपछि ऋण गुर्हान अन्त जान नपरेको भूपराज बस्यालले बताए।उनी मात्र होइन कोभिड १९ का कहरका कारण जीवनयापनमा असहज भएकालाई नगरका १० वटै वडाका राहत बाडेको थियो । सबैलाई पायक पर्ने ठाउँमा राहत वितरण गरेपछि वडा वडाका नागरिक खुसी हुँदै राहत लिएर घर घर लागे ।
दैनिक जीवनयापन चलाउन समस्या हुने समुदायलाई लक्षित गर्दै आत्मनिर्भर बनाउन नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम ल्याएको हो । योग्यता पुगेका नगरका युवाले निवेदन दिएका छन् । गतबर्ष उद्यम व्यवसाय गर्न चाहने युवाको माग अनुसार नगरपालिका र बैङ्कको समन्वयमा बैङ्कमा ऋण नगरपालिकाले तिर्ने गरी २ देखि १२ लाख सम्मको कार्यक्रम ल्याएको थियो । कोभिडले समस्यामा पारेका रोजगारी गुमेकालाई युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको हो ।









