महोत्तरी, ६ चैत (रासस) : फरक धार्मिक आस्था र परम्पराका जाति समुदायबाट आफ्नो परम्पराले वास्ता पाउँदा मन प्रफुल्लित हुने मानव स्वभाव मिथिला माध्यमिकी परिक्रमामा मुखरित भएको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज यात्राको सातौँ दिन महोत्तरीको ध्रुवकुण्ड आइपुग्दा उनीहरुमा यो प्रफुल्लता देखिएको हो । इस्लाम धर्मावलम्बीबाट विनम्रतापूर्वकको वास्ता र स्वागतले यात्री गद्गद् भएका छन् ।यात्राको सातौँ दिन बलवा नगरपालिका–१० धमौरास्थित ध्रुवकुण्डमा स्थानीय इस्लाम धर्मावलम्बीको न्यानो स्नेह, वास्ता र स्वागतले यात्रीमा खुशी थपिएको हो । ध्रुवकुण्ड माध्यमिकी परिक्रमा परम्परामा सातौँ दिनको रात्रि विश्रामस्थल रहँदै आएको छ । यात्रीको आज एकाबिहानैदेखि ध्रुवकुण्ड आइपुग्ने क्रम शुरु भएको छ ।

जिल्लामा इस्लाम धर्मावलम्बीको सघन बसोबास रहेमध्ये धमौरा एक मानिन्छ । यहीँ नै हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड अवस्थित छ । अघि सत्ययुगमा राजकुमार ध्रुव (पछि राजा)ले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदैआउनु गौरवको कुरा भएको इस्लाम धर्मावलम्बी बताउँछन् ।“आउ, ध्रुवकुण्डमें अहाँके हार्दिक स्वागत अई”, (आउनुहोस्, ध्रुवकुण्डमा तपाईँलाई हार्दिक स्वागत छ) आज बिहान छैटौँ दिनको विश्रामस्थल मडैबाट ध्रुवकुण्ड आइपुगेका यात्रीलाई स्थानीय इस्लाम धर्मावलम्बीको समूहले स्वागत गर्दै भनेका छन् । यो धार्मिक सद्भाव र सहिष्णुताको अब्बल उदाहरण भएको धमौराकै बासिन्दा हिन्दू धर्मावलम्बी ७५ वर्षीय वासुदेव पासवान बताउनुहुन्छ ।

आफ्नो बस्तीमा आएका यात्रीलाई इस्लाम धर्मावलम्बीले यात्रामा परेको साह्रोगाह्रो भन्न र आफ्नालायक सेवाका लागि आग्रह गरेका छन् । “तपार्इँहरु मानव कल्याणको कामनासाथ लामो यात्रामा हुनुहुन्छ, केही पर्दा हामीलाई सेवाको अवसर दिनुहोस्”, धमौराका बासिन्दा ७५ वर्षीय इस्लाम धर्मावलम्बी हासिम मियाँले दुई हात जोडेर विनम्रतापूर्वक आग्रह गर्दा यात्रीका आँखा रसाएका देखिन्थे ।धमौरा हिन्दू परम्पराको मात्र नभएर इस्लाम परम्पराका लागि पनि पवित्रस्थल रहेको छ । “यहीँ (धमौरा) हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल ध्रुवकुण्ड छ, यहीँ नै केही दूरी पर इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौराका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता मन्सुल कवारी भन्नुहुन्छ, “हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै आशिष माग्न आउँछन्, हामी इस्लाम धर्मावलम्बी ध्रुवकुण्डको विकासबारे चासो राख्छौँ ।”

मजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले हिन्दू र मुसलमान दुवैको उत्तिकै चासोमा पर्ने मन्सुलको भनाइ छ । मजारमा आएर भक्तिभावसहित आफ्नो दुःख पुकार गर्ने, भाकल गर्ने र पछि भाकल दिन आउनेमा हिन्दूको सङ्ख्या उल्लेख्य हुने मन्सुल बताउनुहुन्छ । “मिथिला माध्यमिकी परिक्रमा हाम्रो ठाउँ चिनाउने खास अवसर हो”, धमौराको अधियानपुरका बासिन्दा इस्लाम धर्मावलम्बी सामाजिक अगुवा अमानुल्ला शेषले यात्रीको स्वागत गर्दै भन्नुभयो, “माध्यमिकी परिक्रमाको यो अवसरलाई आफ्नो ठाउँको विकासमा प्रयोग गर्न जान्नु पर्दछ, यसका लागि यात्रीको सुरक्षा, खानपान, आवास र उपचार व्यवस्था हाम्रा लागि खास महत्व र जिम्मेवारीका कुरा हुन् ।”

हिन्दू परम्पराको मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड (धमौरा) इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताको ठाउँ हो । धमौराका अधियानपुर, रौजाबजार, धमौराटोल र भगवतीपुर बस्तीमा इस्लाम धर्मावलम्बीको बसोबास बाहुल्यता छ । यस ठाउँमा परिक्रमाको सातौँ दिनको विश्राम परम्परालाई अहोभावले स्वागत गर्नसके र राम्रो बिदाइ गर्नसके धार्मिक सद्भावको सन्देशसमेत प्रवाहित हुने इस्लाम धर्मावलम्बी बताउँछन् ।

“हामी धर्म परम्परामा इस्लाम हौँ, मिथिला हाम्रो जन्म र कर्मभूमि हो”, धमौराका ३० वर्षीय इस्लाम धर्मावलम्बी युवा जुवेर मियाँ भन्नुहुन्छ, “अतिथि सत्कार मिथिलाको विशिष्ट पहिचान हो, एकमुष्ट धेरै अतिथिको स्वागत गर्ने अवसर हामीलाई माध्यमिकी परिक्रमा र रौजामजारमा श्रद्धालुको आगमनले प्राप्त हुन्छ ।”

माध्यमिकी परिक्रमा हिन्दू परम्पराको मात्र भन्ने कुरा पनि नरहेको इस्लाम धर्मावलम्बीको कथन छ । “मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले कसिएको हामी ठान्दैनौँ”, धमौराका अर्का इस्लाम धर्मावलम्बी मञ्जुर मियाँ भन्नुहुन्छ, “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ ।”

धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीको पवित्र धार्मिकस्थल रौजामजार रहेका छन् । इस्लामधर्मावलम्बी गदालीबाबासहित तीन जना सुफी सन्तको रौजामजार (समाधीस्थल) मा बर्सेनि हजारौँ सङ्ख्याका हिन्दू दर्शन र मन्नत (इच्छित मनोकामना) माग्न र भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर उज्यालो सम्भावना बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै धर्मावलम्बी सहमत देखिन्छन् ।

माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरुको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू तथा इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू तथा इस्लाम धर्मावलम्बी सँगसँगै लागिपर्ने गरेका यहाँका बुद्धिजीवी बताउँछन् । “ध्रुवकुण्ड र रौजामजार हाम्रा साझा बैभव हुन्”, धमौराकै बासिन्दा शिक्षण पेशाबाट अवकाश लिइ हाल राजनीतिक क्षेत्रमा क्रियाशील रहनुभएका सुशील यादव भन्नुहुन्छ, “आफ्नो ठाउँको चिनारी विस्तार गर्न र विकासका लागि यी दुवै सम्भावना बढाउन हामीले नै पहलकदमी लिनपर्छ ।”

मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा रहँदै आएको छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट शुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । कञ्चनवनबाट यात्रा धनुषा प्रवेश गर्छ । ध्रुवकुण्डमा फरक धर्म परम्पराका समुदायबाट पाएको स्नेह र सद्भाव आफ्नो बाँकी यात्राका लागि ऊर्जा हुने यात्रीले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah