अनलाइन मार्फत विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी प्रयोजनकाे लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ। केन्द्रिय बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत सटही गर्न सकिने व्यवस्था गरेको हो।
केन्द्रय बैंकले वार्षिक अधिकतम ५०० डलरसम्म वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो। यसरी जारी भएको कार्डवाट ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरिद गर्न सकिन्छ ।
प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने छ। बैंकहरुले कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनु पर्नेछ।
नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशबाट खरिद गर्न सक्नेछन् ।
सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीको लागि विदेशी मुद्रा सटहीको बार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुनुपर्नेछ।



