
विराटनगर : प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाभित्र छ महिनाभन्दा अघिदेखि पानी पर्न सकिरहेको छैन। लामो समयदेखि हिउँदे वर्षा नहुँदा जताततै धुलो र धुवाँमात्रै उडिरहेको देख्न सकिन्छ। भारतको जोगबनी र सुनसरी तथा मोरङका केही स्थानीय तहले विराटनगरको सिमाना छुट्याएका छन्। वरपर केही दिनअघि भारी वर्षा भए पनि १९ वटा वडा रहेको विराटनगरमा भने सिमसिमे पानी पनि मज्जाले पर्न सकेको छैन। आसपासका स्थानमा हावाहुरी, चट्याङ र असिनासहित यसअघि पानी पर्यो। जनघनत्व धेरै रहेको विराटनगरमा भने वर्षा नभएकाले धुलो र धुवाँको प्रभाव बढी हुँदा जनजीवनमा नराम्ररी असर परिरहेको वातावणविद्हरुले बताएका छन्। जल तथा मौसम फिल्ड कार्यालय विराटनगरका अनुसार गत असोज ८ गते अन्तिम पटक एक सय २५ मिलिलिटर वर्षा भएको थियो। धान रोप्ने समयमा भने मज्जाले वर्षा भयो।
असोज ८ पछि भने यसवर्ष अहिलेसम्म प्रभावकारी वर्षा हुन नसकेको कार्यालयका मौसमविद् सुशील चौधरीले बताए। उनका अनुसार त्यसयता तीन पटकसम्म सामान्य हिसाबको हल्का वर्षा भए पनि प्रभाव शून्य रहयो। विराटनगरमा गत पुस १६ गते २.८, २० गते ४.८ र फागुन १४ गते ११.८ मिलिलिटर वर्षा भएको चौधरीले बताए। ‘विराटनगरमा असोज पहिलो सातायता ठूलो वर्षा हुन सकेको छैन। बेला–बेला पानी छिट्यायो मात्रै। तीन पटकसम्म वर्षा भए पनि प्रभावहीन र सित पर्ने हिसाबको मात्रै थियो,’ उनले भने, ‘मौसम सफा हुन ठूलो पानी पर्न आवश्यक रहे पनि वर्षाको अवस्था एकदमै कमजोर र साधारण रहयो। जसका कारण वायुमण्डलमा थुप्रिएको धुलो र धुवाँले जनजीवनलाई नराम्ररी प्रभावित बनाइरहेको छ। आकाशबाट छिट्याएको पानीले मात्रै जनजीवनमा कुनै फाइदा पुग्दैन।’ विराटनगर महानगरपालिका–५ का स्थानीय शम्भु कार्कीले लामो समयदेखि जमिनको धुलो मर्ने पानी पनि नपरेको बताए। ‘विराटनगरमा यति लामो समयसम्म खडेरी परेको थाहा छैन,’ ७० वर्षीय उनले भने, ‘दुई÷तीन पटकसम्म सित्याए पनि महानगरका बासिन्दाले छ महिनाभन्दा अघिदेखि पानी परेको अनुभव गर्नै पाएका छैनन्।’
कार्कीका अनुसार वर्षा नहुँदा जताततै धुलो र धुवाँले आक्रान्त बनाएको छ। ‘धुलो उडेर घरभित्र ओछ्यान र भान्छा कोठासम्म पुग्छ,’ उनले भने, ‘जतिबेलै घरका झ्याल र ढोका बन्द राख्दा पनि पसिहाल्छ।’ उनले घरभित्र धुलो पुगेर समस्या निम्तन थालेको बताए। वर्षा नहुँदा खेतिकिसानी गरेर जीविका चलाउनेहरु ठूलो मारमा परेको स्थानीय कृषक सत्रुधन महतोले बताए। ‘अहिले घोगा लाग्न सुरु भएको हिउँदे मकै बालीमा पानी लगाउने बेला भएको थियो,’ उनले भने, ‘आकाशको भर पर्दापर्दा केही नलागेपछि ‘पम्पिङ सेट’को प्रयोग गर्दै भूमिगत पानी निकालेर प्रयोग गरियो।’ विगतजस्तो हिउँदे वर्षा भइदिएको भए यसरी दुःख गर्नुपर्ने अवस्था नआउने र भूमिगत पानी प्रयोग गर्दा हुने खर्च रोकिने महतोको भनाइ छ। वातावरणविद् रामचन्द्र अधिकारी यसवर्ष मुलुकभर नै हिउँदे वर्षा कम भए पनि विराटनगर सबैभन्दा बढी प्रभावित बनेको बताउँछन्।’ उनका अनुसार चक्रिय वायुप्रणाली अन्तर्गत जेठदेखि असोजसम्ममा ८० प्रतिशत वर्षा हुनुपर्छ। अरु बेला २० प्रतिशत हुनुपर्ने भए पनि यसवर्ष प्रभावकारी हिउँदे वर्षा हुन नसकेको अधिकारीले बताए।
वर्षा नभएकाले हुस्सु लागेका समयमा घुलेर वायुमण्डलमा रहेका धुलोका कणहरु जमिनको सहतमा आउँदा वायु प्रदूषण बढ्दै गएको उनको भनाइ छ। ‘विशेष गरेर वर्षा हुन पश्चिम–उत्तरतिरबाट हावा चल्नु पर्छ। तर अहिले पानी पर्नै नसक्ने पूर्वी हावाको प्रभाव धेरै छ,’ वातावरणविद् अधिकारीले भने, ‘मौसम प्रणाली नै ठीक उल्टो चलेपछि आवश्यक वर्षा हुन नसकेको हो। उल्टो मौसम प्रणालीले वातावरणलाई थप धुमिल्याएर खराब बनाउन सहयोग गरिरहेको छ।’ उनका अनुसार पानी नपर्नुको अर्को कारण जलवाष्प (पानीको वाफ बोकेको बादल) नेपालतिर आउन नसक्नु पनि हो। ‘जलवाष्प आउनलाई पूर्वतर्फको वायु मण्डलीय चाप कम हुनुपर्छ,’ उनी भन्छन्, ‘वायु मण्डलीय चापको असन्तुलनका कारण गति उल्टो हुँदा विशेष गरेर पश्चिम तिरबाट जलवाष्प बोकेको हावा आउन सकेको छैन।’
अधिकारीले विराटनगरमा यति लामो समयसम्म खडेरी परेको जानकारी आफूलाई पनि नभएको बताए। जलवायु परिवर्तनको प्रभावले गर्दा पानी नै पर्न मुस्किल परिरहेको उनको बुझाइ छ। आवश्यक मात्रामा पानी नपर्दा हावामा धुलोका कण धेरै मात्रामा जम्मा भएकाले वायु प्रदूषण निम्तिन थालेको अधिकारीले बताए। ‘पानी परेमा घुलेर धुलोका कणहरु जमिनमा आउँथे,’ उनले भने, ‘यसले मौसमलाई सफा राख्न मद्धत पुग्थ्यो।’ पानी अभाव हुँदा किसानले लगाएको बालीनालीलाई पनि असर परिरहेको उनको भानाइ छ। अहिले पालुवा फेर्ने समय भएकाले बोटविरुवाका लागि पनि पानी आवश्यक पर्छ। ‘पानी नपर्दा सबै वनस्पतिको जीवन प्रणालीमा असर गरिरहेको छ,’ वातावरणविद् अधिकारी भन्छन्, ‘जमिन मुनिको भूमिगत पानीको मुहान पनि सुक्न थालेका छन्।’ लामो समय वर्षा नभएमा भूमिगत जलस्रोत सुक्ने विराटनगरको पुरानै समस्या रहेको उनको भनाइ छ। पानीका कारण सिंगो जैविक संसारमै ठूलो प्रभाव र असर परिरहेको जानकारी अधिकारीले दिए।
वायु प्रदूषणको अवस्था सामान्य
छ महिनादेखि पानी नपरे पनि विराटनगरमा अहिलेको वायु प्रदूषणको अवस्था भने सामान्य रहेको बताइएको छ। यसअघि काठमाडौंमा प्रदूषण अति खतरनाक विन्दुमा पुगेका बेला गत पुसमा महानगरभित्रको प्रदूषणको अवस्था खतराको तह (रेड जोन) मा पुगेको थियो। वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ० देखि ५० सम्मलाई स्वास्थ्यका हिसाबले अति उत्तम मानिन्छ र ५० देखि १ सयसम्मलाई सामान्य मानिन्छ। १०१ देखि १५० सम्मलाई खतराको सीमामा र १५१ देखि २०० सम्मलाई ‘रेड जोन’ अर्थात स्वास्थ्यका हिसाबले खतरा रहेको भन्ने बुझिन्छ।
विराटनगरको एक्यूआई सोमबार ८५ र मंगलबार बिहानसम्म ९९ रहेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए। उनका अनुसार एक्यूआई उकालो लाग्नुनै वायु प्रदूषण खतरातर्फ अघि बढेको शंकेत हो। ठाकुरले लामो समयदेखि वर्षा नभएको, धुलो र धुँवा अत्याधिक रहेको तथा सडक र उद्योग कलकारखानामा पनि ‘मुभमेन्ट’ बढेकाले प्रदूषण बढ्दै गएको बताए। अहिलेको अवस्थालाई सामान्य ठाने पनि दिन प्रतिदिन बिग्रदो अवस्थाका कारण सचेत भने हुन आवश्यक रहेको उनले बताए। केही दिनदेखि बादलले सूर्यलाई छेकेजस्तो विराटनगरको आकाश धुम्म छ। मंगलबार सामान्य मात्रै घाम लाग्यो। आकाश धुम्म हुनु पनि प्रदूषण बढ्ने खतराको शंकेत भएको सहायक वन अधिकृतसमेत रहेका ठाकुरको भनाइ छ। वायु प्रदूषणको अवस्था पत्ता लगाउने ‘डिस्प्ले’ विराटनगर– ३ स्थित डिभिजन वन कार्यालयमा छ। संघीय सरकार अन्तर्गतको वातावरण विभागले गत वर्षको साउनदेखि वायु प्रदूषण मापन गर्ने ‘डिस्प्ले’ राखेको हो।
तर वातावरणका जानकारहरु विराटननगरको एक्यूआई सोमबार १७७ सम्म पुगेको दाबी गर्छन्। वायु प्रदूषणको अवस्था सामान्य रहेको भनिरहँदा प्ल्युम ल्याब जस्ता हावाको गुणस्तर मापन गर्ने वेबसाइटहरुले विराटनगरको हावा अत्यन्त दूषित भएको उल्लेख गरेका छन्। प्ल्युम ल्याबले सोमबार १९९ एक्यूआई पुगेको देखाएको छ। पानी पर्न नसकेका कारण विराटनगरमा बढ्दो सवारी चाप, उद्योग कल कारखाना र विकास निर्माणका कामबाट निस्किएको धुँवा र धुलो, फोहोरमैला लगायतका कारणले पनि वायु प्रदूषण ह्वात्तै बढ्ने अवस्था रहेको वातावरणविद्हरुको भनाइ छ।
अब प्रदूषण बढेमा स्वास्थ्यका दृष्टिकोणले अतिनै जोखिम र हानिकारक हुने भएकाले गम्भीर बन्नुको विकल्प नभएको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। विशेष गरेर वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा मुटु, दम लगायतका स्वास्थ्य सम्बन्धी पुरानो समस्या भएकाहरु प्रदूषणको बढी जोखिममा रहने उनको भनाइ छ। सबैले सावधानी अपनाउनू र वायु प्रदूषण बढाउने खालका गतिविधी कम गर्दै लैजानुको विकल्प नभएको डा. दासको भनाइ छ। उनले विशेष गरेर बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढ्ने गरेका कारण घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउँदै मास्कको प्रयोग गर्नुपर्ने र सरसफाईमा ध्यान दिनुपर्ने बताए।
देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय संघीय सरकारले गरेको थियो। तर विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथावत रुपमा सूचारु हुने सूचना जारी गरेर विद्यालय सञ्चालनलाई कायम राख्यो। सरकारले काठमाडौंलाई हेरेर लिएको निर्णय उपयुक्त नहुने भएकाले विराटनगरमा वायु प्रदूषणको मात्रालाई आधार मानेर शैक्षिक संस्था बन्द नगरिएको महानगर वातावरण शाखा प्रमुख अनिता न्यौपानेको भनाइ छ। वायुको अवस्था चिन्ताजनक नभएकाले संघीय सरकारको निर्णय नमानिएको महानगरले जनाएको छ।