
यूएईको दुबईमा रहेको एक भवनको बाल्कोनीमा नग्न तस्वीर खिचाएर विवादमा आएका महिलाहरू रुस, बेलारुस, मोल्दोभा र युक्रेनको भएको बताइएको छ ।
युक्रेनका ११ मोडलहरूलाई दुबई प्रहरीले सार्वजनिक स्थानमा भ्रष्ट आचरण गरेकोमा पक्राउ गरेको छ । उनीहरूलाई ६ महिनाको कारावास सजाय र भारी जरिवाना लगाइने सम्भावना छ ।
फोटोशूट प्रोजेक्टमा ४० जना मोडल सहभागी थिए । उनीहरूको उमेर २० नजिक छ ।
यसै घटनामा रुसका फोटोग्राफरलाई पनि पक्राउ गरिएको छ । उनको नाम एलेक्सी कोन्तसोभ हो ।
उनैले दुबईको बाल्कोनीमा विवादास्पद फोटोशूट गराएको आरोप छ ।
एलेक्सीले आफू अर्को अपार्टमेन्टमा रहेको र यी महिलाहरूको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमा शेयर मात्र गरेको बताए । तर नग्न भिडियो सामाजिक सञ्जालमा शेयर गर्नु पनि यूएईमा अपराध हो । त्यसका लागि डेढ वर्षको कारावास सजाय हुन सक्छ ।
केही समाचारहरूमा ती सबै मोडलहरू अमेरिकाको एक पोर्न वेबसाइटका लागि शूटिङको तयारीमा रहेको उल्लेख छ ।
यूएईमा स्थानीयका साथै पर्यटकहरूले पनि सार्वजनिक आचरणसम्बन्धी कानून कठोरतापूर्वक पालन गर्नुपर्ने हुन्छ ।
दुबई प्रहरीले एक बयान जारी गरी यी मोडलहरूको आचरण समाजमा सह्य नभएको र यस्तो भ्रष्ट व्यवहार यूएईको समाजका मूल्य र मान्यताअनुकूल नभएको बतायो ।