घर बनाउन मनग्ये पैसा खर्च गर्नेले पनि सुरक्षित वायरिङतर्फ त्यति ध्यान दिएका हुँदैनन् । घरको संरचना निर्माण, भित्री र बाहिरी सजावटमा जति ध्यान दिइन्छ, त्यति नै ध्यान विद्युतीय वायरिङ गर्दा पनि दिनुपर्छ । सुरक्षित वायरिङ गरिएन भने घर कहिल्यै सुरक्षित हुँदैन । वायरिङमा ध्यान नदिँदा विलासी विद्युतीय उपकरण चलाउँदा जुनसुकै बेला आगलागी हुन सक्ने खतरा रहन्छ ।
जसरी घरको आकर्षक डिजाइन तयार पार्न आर्किटेक्ट खोज्दै हिँड्छौं, घरलाई सुन्दर बनाउन इन्टेरियर डिजाइनर खोज्छौँ, त्यसरी नै विद्युतीय वायरिङका लागि पनि दक्ष इलेक्ट्रिकल इन्जिनियरको सल्लाह-सुझाव लिनुपर्छ ।
इलेक्ट्रिकल इन्जिनियर महञ्जी यादवका अनुसार धेरैले घरमा वायरिङ गर्दा नेपाल इलेक्ट्रिसिटी अथोरिटी (एनईए) कोडको पालना गरेको भेटिँदैन । उनी भन्छन्, ‘जसले सस्तोमा वायरिङ गरिदिन्छन्, उसैलाई कामको जिम्मा लगाउने चलन छ। गुणस्तरतर्फ ध्यान दिने गरेका छैनन् ।’ इलेक्ट्रिकल इन्जिनियरबाट वायरिङको डिजाइन गराउँदा धेरै खर्च लाग्दैन । यादवका अनुसार इन्जिनियरहरूले अढाई तलाको घरमा ५ देखि १५ हजारसम्म सुरक्षित वायरिङको डिजाइन गरिदिन सक्छन् । यसका लागि हामीले घरमा प्रयोगमा ल्याउने विद्युतीय उपकरणका बारेमा इन्जिनियरलाई विस्तृत जानकारी भने गराउनुपर्छ ।
ध्यान दिनुपर्ने कुरा
कतिपयलाई घरमा बत्ती बले पुग्छ । यस्ता मानिसले सुरक्षामा ध्यान दिएका हुँदैनन् । विद्युतीय उपकरण र सिस्टमलाई पूरै सुरक्षित गर्न भरपर्दो ‘अर्थिङ’ गर्नुपर्छ । अहिले धेरैजसोका घरमा साधारण इलेक्ट्रिसियनले सामान्य रड गाडेर अर्थिङ गरिदिने गरेका छन् । जसको टेस्ट पनि गरिँदैन । बलियो अर्थिङ नगर्दा घर असुरक्षित हुन सक्छ । घरलाई चट्याङबाट बचाउन ‘लाइटिङ एरेस्टर’ राख्नुपर्छ । ‘साधारण इलेकिट्रयसनले आफ्नो दक्षताअनुसार काम गर्छ, जसले गर्दा समस्या निम्तिन सक्छ,’ इन्जिनियर यादव भन्छन्, ‘लोड क्यालकुलेसन, सर्किट डिभिजन, लोड ब्यालेन्स, केवल साइज सेलेक्सन आदि कुरा साधारण इलेक्ट्रिसियनले गर्न सक्दैनन् ।’
अझै धेरैले वायरिङको काम पनि ठेकेदारलाई जिम्मा लगाउँछन् । ठेकेदारले सस्ता इलेक्ट्रिसियनबाट वायरिङ गराइदिन्छन् । यस्तो प्रवृत्ति गलत रहेको यादव बताउँछन् । घर, अफिस वा भवनमा विद्युत सट हुँदा आगलागी भएका समाचार बाहिर आइरहेका हुन्छन्,’ उनी भन्छन्, ‘घर बनाउँदा सुरक्षित वायरिङ नगरेकाले यस्तो समस्या निम्तिन्छ । घरमा वायरिङ गर्दा सुरुमै दक्ष प्राविधिकसँग सल्लाह गरेर काम गरियो भने भविष्यमा धेरै उपकरण चलाउँदा हुने सर्किटको ओभरलोडको समस्याबाट जोगिन सकिन्छ ।’
वायरिङ गर्नुअघि ध्यान दिनुपर्ने कुरा
कुन रङ प्रयोग गर्ने ?
बेडरुम, किचन, स्टडी रुम, लिभिङ रुम, बाथरुम लगायतमा कति लुमेन (लाइटको युनिट) चाहिन्छ ? र, कस्ता–कस्ता उपकरण प्रयोग गर्ने ?
बत्तीको स्रोत कहाँ–कहाँ जोड्नुपर्छ ?
टेलिफोन, टेलिभिजन, कम्प्युटरको कनेक्सन कहाँ आवश्यक छ ?
बाहिर रहेका बत्तीलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
स्मार्टहोमको व्यावहारिक प्रयोग अथवा सञ्चालनको लागि स्विच वा कन्ट्रोल कहाँ र कसरी राख्ने ?
यस्ता पक्षमा विचार गरेपछि यी कुरामा निर्णय लिन सकिन्छ:
बिजुली सर्किटको संख्या
सकेटको संख्या
जोड्नुपर्ने बत्तीको संख्या
टीभी, टेलिफोन, कम्प्युटर आदिको लागि जडान संख्या
स्मार्ट होम प्रक्रियाको लागि विद्युत जडानको तयारी
सुरक्षाका कुरा
लाइट सर्किटमा कति स्क्वायर एमएमको तार प्रयोग गर्ने ? तार पनि फायर प्रुफ प्रयोग गर्ने कि नर्मल ? त्यसमा पनि कन्ड्युक्ट पाइप फायर प्रुफ प्रयोग गर्ने कि नर्मल ? सबै घरधनीले छनोट गर्नुपर्छ । फायर प्रुफ तार र पाइपले सर्किट जाँदा आगलागी हुनबाट बचाउँछ । इन्जिनियर यादवका अनुसार सामान्य तार र पाइप प्रयोग गर्नुको सट्टा फायर प्रुफ तार र पाइप प्रयोग गर्दा खर्च १० देखि १५ प्रतिशत बढी लाग्न सक्छ ।
‘घर बनाउँदा हाम्रो एसी, वासिङ मेसिनलगायत विलासी उपकरण चलाउने हैसियत नहुन सक्छ तर भोलि कमाउन थालियो भने यस्ता उपकरण चलाउन थालिन्छ,’ उनी भन्छन्, ‘घर बनाउँदा भोलिबारे नसोचेर कमजोर वायरिङ गर्दा एसी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रो ओभन, गिजरलगायत उपकरण थप्दै जाँदा वायरिङ सिस्टमले लोड धान्न नसकेर सर्किट जाने वा आगलागी हुन सक्छ ।’कमजोर वायरिङ गर्दा पछि धेरै उपकरण चलाउँदा लोड धान्न नसकेर एमसीबी जल्ने, तार जल्ने, जबर्जस्ती प्रयोग गर्न खोज्दा आगलागी हुन सक्ने सम्भावना रहने यादव बताउँछन् ।
योजना जहिले पनि घरको वा अपार्टमेन्टको कन्सट्रक्सन प्लान अर्थात् फ्लोर प्लानको आधारमा गरिन्छ । जुन धेरै हदसम्म सही हुन्छ । ढोका, ढोका खुल्ने दिशा, भ¥याङ, चुल्हो राख्ने ठाउँ आदिमा विशेष ध्यान दिनुपर्छ । महत्वपूर्ण फर्निसिङ कुन–कुन कोठामा राख्ने भनेर फ्लोर प्लानमै विचार गर्नुपर्छ । यो सबै जानकारी प्राप्त भइसकेपछि कोठामा सम्बन्धित उपकरण जडान आवश्यकताअनुसार गर्न सकिन्छ ।
इञ्जिनियर यादवका भुल्नै नहुने टिप्सहरु
साधारणतया लाइट सर्किटको लागि १.५ देखि २.५ स्क्वायर एमएम मल्टिएसटेन्ड कपर वायर फायर प्रयोग गर्नुपर्छ । यो फायर प्रुफ वा नर्मल दुवैमा पाइन्छ ।
पावर सर्किटको लागि २.५ देखि ४ स्क्वायर एमएमसम्मको फायर प्रुफ वा नर्मल मल्टिसटेन्ट कपर वायर प्रयोग गर्न सकिन्छ ।
यसमा लाग्ने कन्डिक्ट पाइप १६ एमएमदेखि २५ एमएमसम्म (तारको संख्याअनुसार) फायर प्रुफ वा नर्मल प्रयोग गर्न सकिन्छ ।
अर्थिङको तार लाइटका लागि १ देखि १.५ स्क्वायर एमएम र पावरका लागि १.५ देखि २.५ स्क्वायर एमएमसम्मको मल्टिएसटेन्ट कपर वायर प्रयोग गर्नुपर्छ । यो पनि फायर प्रुफ र नर्मल दुवैमा पाइन्छ ।
डिस्ट्रिब्युसन बोर्डहरू घरको आवश्यक लोड अनुसारको बनाउनुपर्छ । एमसीबीको छनोट गर्दा गुणस्तर कम्पनी हेर्नुपर्छ । त्यसपछि प्राधीकरणको इनर्जी मिटर पनि घरको लोड अनुसारको राख्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, एमसीबीको लोड धान्ने क्षमताभन्दा तारको लोड धान्ने क्षमता जहिल्यै कम हुनुपर्छ । यसो गर्दा कहिलेकाहीँ तारबाट बढी करेन्ट प्रवाह भएको खण्डमा तारले लोड धान्न नसकेर एमसीबी ट्रिप भएर आगालागी हुनबाट बचाउँछ ।
एमसीबीको तुलनामा तारको लोड धान्ने क्षमता बढी भएको खण्डमा बढी करेन्ट आउँदा तार जलेर आगालागी हुन सक्छ, त्यहाँ एमसीबीले काम गर्दैन । नेपाल होम्स बाट



