दूरसञ्चार सेवाप्रदायक युनाइटेड टेलिकम प्रालिले सरकारलाई ६३ करोड रुपैयाँभन्दा बढी रोयल्टी बुझाएको छैन ।
दूरसञ्चार नियमावली, २०५४ मा अनुमतिप्राप्त व्यक्तिले कुल वार्षिक आम्दानीको चार प्रतिशतले हुन आउने रकम प्रत्येक वर्ष रोयल्टीका रुपमा सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ ।
यस्तो रोयल्टी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य) सम्बन्धी नीति, २०६९ मा छ ।
तर, चार दूरसञ्चार प्रदायकले २०७२÷७३ देखि गत आर्थिक वर्ष २०७६÷७७ सम्मको बक्यौता नतिरेका हुन् । बक्यौताभित्र फ्रिक्वेन्सी तथा भिस्याट र रोयल्टी छन् ।
सबैभन्दा धेरै बक्यौता युनाइटेड टेलिकमको हो । आर्थिक वर्ष २०७४÷७५ देखिको बाँकी रहेको उक्त कम्पनीको गत वर्षसम्म नतिरेको फ्रिक्वेन्सी बक्यौता ६३ करोड तीन लाख रुपैयाँ छ ।
त्यस्तै, आईटेलले आर्थिक वर्ष २०७२÷७३ देखि २०७४÷७५ सम्मको २१ लाख ६९ हजार बक्यौता बुझाएको छैन ।
टासी कम्युनिकेसनको भिस्याटको फ्रिक्वेन्सीबापतको ४७ हजार बक्यौता छ भने रोयल नेटवर्कको चार हजार आठ सय ८० रोयल्टी बक्यौता छ ।
समयमा रोयल्टी नबुझाएका कारण कारबाहीस्वरुप थप शुल्कसहित असुल उपर गर्ने कानुनी व्यवस्था छ ।
-नेपाल वाच बाट



