अवैध रुपमा मास्कको कारोबार गर्ने तीन स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । शुक्रबार विहानैदेखि बजार अनुगमनमा निस्किएको विभागको टोलीले अनुगमनका क्रममा काठमाडौं ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एण्ड बी स्टोर र आरएन स्टोरलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा यी स्टोरहरुले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिल बिजक नराखी अवैध रुपमा मास्कको कारोबार गरिरहेको पाइएकाले कारबाही गरिएको विभागका प्रवक्ता शिवराज सेढाईले रातोपाटीसँग बताए ।
सेढाईकाअनुसार उक्त फर्महरुले कहाँबाट मास्क किनेर ल्याएको, कतिमा किनेको र कतिमा बेच्ने भन्ने मूल्य समेत नखुलाइएकोले सो फर्महरुमाथि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (घ) अनुसारको कसुर गरेकाले उक्त फर्महरूलाई सोही ऐनको दफा ३९(१)(क) बमोजिम जनही ५ हजारका दरले जरिवाना गरिएको सेढाईले जानकारी दिए ।



