नेकपा एमालेले दमकमा मेयर, उपमेयर सहित सम्पूर्ण वडाहरुमा आफूहरु बलियो रहेको दाबी गरेको छ । आज दमकमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । निर्वाचन मूल परिचालन समितिका संयोजक अर्जुन राइले एमालेले निर्वाचन जितिसकेको जनाउदै एमालेले ल्याएका बिकास योजनाहरुबाट जनता उत्साहित भएको दाबी गरे ।
मेयरका उम्मेद्वार रोमनाथ ओलीले दमक बनाउन र दमकको जनताका आँकाक्षाहरु पुरा गर्नका लागि एमाले बाहेकका अन्य दलहरुले नसक्ने बताए । उनले आफू मेयर हुदा चक्रपथ सडक बनाउन शुरु गरेको, दमकको बसपार्कका लागि जग्गा छुट्याएको, जनसहभागितामा आधारित बिकास निर्माण शुरु भएको, दमकको फराकिला बाटाहरुको अवधारणा ल्याएर काम गरेको, त्यो समयमा नै दमकमा सडकबत्तिहरु बालेको बताउदै हावादारी कुरा गर्दै हिड्नुमा कुनै तुक नरहने बताए ।
शिक्षा, रोजगार, स्वास्थ्य, सुरक्षामा दमकलाइ अब्बल बस्न तथा हेर्न लायक दमक बनाउने आफ्नो अठोट रहेको जनाए । आफू सोझो नभएको तर इमान्दार भएको भन्दै ढाट्न, छल्न र नहुने गफ गर्न नआउने ओलीले जनाए । उनले जनतासामु गरेका बाचा पुरा गरेर नै छाड्ने जनाए । सुकुम्बासीहरुको समस्या एक बर्षभित्र जसरी पनि सामधान गर्ने बताए । नगरबासीले शिर ठाडो गरेर हिड्ने अवस्था सिर्जना गर्न आफ्नो उम्मेद्वारी भएको भन्दै जनता गफमा नभुल्ने उनको भनाइ थियो ।
ओलीले भने-आफूलाइ दाग लगाउन सकिन्छ कि, खोट भेट्टाउन सकिन्छ की, कुनै आरोप लगाउन सकिन्छकी भनेर यो बिचमा धेरैले प्रयास गरे तर कहि कतै केहि भेटेनन् र अहिले सोझो मान्छे भन्दारहेछन् तर म सोझो छइन इमान्दार छु, जनतामाथि बेइमान गर्दिन ।
उपमेयरकी उम्मेद्वार गीता अधिकारीले अब महिला तथा पुरुषहरुले दमकमा न्यायको अनूभूत गर्ने बताइन् । उनले दमक प्राविधिक शिक्षाको हव बनाउने, हरेक गृहणिहरुलाइ रोजगारको अवस्था सिर्जना गर्ने, घरेलु उत्पादनका सामानहरु नगरपालिकाले बजार ब्यवस्थापन गर्ने, बिपन्न बिद्यार्थीहरुलाइ साइकल उपलब्ध गराउने लगायतका योजनाहरु रहेको जानकारी दिइन् । उनले आफूप्रति मतदातासंग भेटदा चुनाव जितिसकेको पाएको उनको भनाइ थियो ।



