कोरोना संक्रमणको महामारी र त्योसंगै लगाइएको निषेधाज्ञाका कारण वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजश्व असुलीमान परेको छ।
कोरोना माहमारीले मालवस्तुको आयात निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा पनि असर परेको हो।
कोरोना संक्रमणको दोश्रो लहर नेपालमा वैशाखदेखि सुरु भएको हो। संक्रमण बृद्धि दर उच्च भएपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको छ।
महमारी र निषेधाज्ञाका कारण वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा असर परेको हो। वैशाख महिनामा वीरगन्ज भन्सारले लक्ष्य भन्दा २ अर्ब ६० करोड कम राजश्व संकलन गरेको छ।
भन्सार विभागले वीरगन्ज भन्सारलाई वैशाख महिनामा १९ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर वैशाखमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८६.६३ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको हो।
वैशाखमा वीरगन्ज भन्सार लक्ष्य भन्दा १३.३७ प्रतिशत कम अर्थात् १६ अर्ब ८४ करोड ५७ लाख ८२ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए।
पौडेलका अनुसार वीरगन्ज भन्सारले सामान्य अवस्थामा दैनिक औसतमा ६५ करोड रुपैयाँ राजश्व संकलन गर्ने गरेको छ। तर वैशाख महिना सुरु भए यता भन्सारको दैनिक राजश्व असुली दर औसतमा ५६ करोड मात्रै रहेको पौडेलले बताए।
२०७७ को वैशाखामा पनि कोरोना महामारी र लकडाउनका कारण वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको २९ प्रतिशत मात्रै राजश्व उठाएको थियो।
अहिले फेरि विश्वभर कोरोना संक्रमणको महामारी फैलिएका कारण भारत तथा तेश्रो मुलुकबाट मालवस्तुको आयत सहज नहुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजश्व असुलीमा परेको पौडेलले बताए।
नेपालमा संक्रमणको दोश्रो लहर सुरु भएपछि राजश्व बढी उठ्ने इन्धन र नयाँ सवारी साधनको आयात नै ह्वात्तै घटेका कारणले त्यसको सिधा असर राजश्व असुलीमा परेको उनले बताए।
महामारी छिट्टै नियन्त्रणमा आउने र निषेधाज्ञा पनि छिट्टै हट्ने सम्भावना तत्काल नदेखिएकाले जेठ पछिका महिनामा राजश्व असुली अझ कम हुने अनुमान गरिएको छ।
गत चैतमा भने वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको १३१ प्रतिशत राजश्व संकलन गरेको थियो।
भन्सार विभागले चैतमा १५ अर्ब १७ करोड ६७ लाखको लक्ष्य दिएको थियो। चैतमा वीरगन्ज भन्सारले लक्ष्य भन्दा झण्डै साढे ४ अर्ब बढी अर्थात १९ अर्ब ८७ करोड ९१ लाख रुपैया राजस्व संकलन गरेको थियो।
भन्सारका १९ कर्मचारी संक्रमित : १ को मृत्यु
कोरोनाको दोश्रो लहर सुरु भएपछि वीरगन्ज भन्सार कार्यालयमा कार्यरत १९ कर्मचारीसंक्रमित भइसकेका छन्।कोरोनाको दोश्रो लहर सुरु भएपछि वीरगन्ज भन्सारका एक कर्मचारीको मृत्युसमेत भइसकेको छ।
‘संक्रमित १९ मध्ये एकजना कम्युटर अधिकृतको मृत्यु भयो’, पौडेलले भने, ‘९ जना संक्रमण मुक्त भएर काममा फर्किएका छन् भने बाँकी ९ जना अझै होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।



