नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निरन्तर बढीरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।