खोटाङ– खोटाङमा समयअगावै सुत्केरी व्यथा लागेकी महिलालाई हेलिकोप्टरबाट उद्दार गरेर अस्पताल लगिएको छ । सामान्यतः ४० सातामा सुत्केरी व्यथा लाग्नुपर्नेमा ३२ सातामै व्यथा लागेकी साकेला गाउँपालिका वडा नम्बर ४ मात्तिम मानेभन्ज्याङकी २५ वर्षीया सरस्वती कटवाललाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएलगत्तै कटवालको स्वास्थ्य अवस्थालाई लक्षित गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं पठाइएको हो । जिल्लामा उपचार हुन नसकेको र गम्भीर स्वास्थ्य समस्या निम्तिने खतरा देखिएपछि जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइ सिंहदरबार काठमाडौंलाई आग्रह गरेर सुत्केरी व्यथा लागेकी महिलाको उद्दारका लागि हेलिकोप्टर व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।