ओखलढुंगाको मोलुङ गाउँपालिका ६ श्रीचौरलाई शिल गरिएको छ । बजार क्षेत्रका एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि वडालाई १० दिनका लागि शिल गरिएको हो । वडा कार्यपालिकाको बैठकको निर्णयअनुसार शुक्रबारबाट लागु हुने गरी आगामी भदौ ५ गतेसम्मलाई पूर्णरुपमा शिल गरिएको वडा अध्यक्ष रामकाजी तामाङले जानकारी दिए ।
वडा पालिकाको बजार क्षेत्रमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको केही दिनअघि कोरोना संक्रमण भई उपचारका क्रममा ज्यान गएको थियो । उनले सञ्चालन गरको होटलमा मानिसहरुको आवतजावत बढी हुने भएकाले कोरोनाको जोखिम थप बढ्न सक्ने भन्दै वडालाई शिल गरिएको तामाङको भनाई छ ।
सो अवधिमा कोरोना संक्रमण थप फैलन नदिन वडामा सबैखाले स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गराउने नियम बनाइएको छ । निषेध गरिएको समयमा कुनै पनि नागरिक वडाबाट बाहिर निस्कन पाउने छैनन् भने बाहिर गएका मानिसलाई समेत सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ ।



