सामाजिक सञ्जाल विशेष गरेर ट्वीटरमा बिहीबारदेखि एउटा नाम एकदमै चर्चित भइरहेको छ “राम बहादुर” । ट्वीटरको हालको ट्रेन्डिङमा राम बहादुर भन्ने नाम छ । यता फेसबुकमा पनि राम बहादुरको नामका पोस्ट शेयर भइरहेका छन् ।

यतिबेला सामाजिक सञ्जालका केही प्रयोगकर्ता राम बहादुरको नाममा विभिन्न ट्रोल र पोस्टहरू शेयर गरिरहेका छन् भने केही प्रयोगकर्ता रामबहादुर को हो र एकाएक यो नाम सामाजिक सञ्जालमा कसरी आयो भनेर अचम्मित बनेका छन् । यसको वास्तविकता कुरा सुरु हुन्छ सञ्जय सिलवाल गुप्ताको पोडकास्ट भिडियोबाट ।

बुधबार गुप्ताले ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतिसँगको अन्तरर्वार्ता आफ्नो युट्युब च्यानलमा राखेका थिए । यो समाचार तयार पार्दासम्म सो भिडियो २५ हजारभन्दा बढीले हेरिसकेका छन् ।

तर त्यही भिडिओ अन्तर्वार्तामा बोलेको ‘रामबहादुर’को प्रसंग अहिले सामाजिक सञ्जालमा ट्रोलको विषय बनेको छ । यससँगै अहिले रामबहादुर ट्वीटरको ट्रेन्डिङमा छ । बुधबार प्रसारण भएको “मेक इन नेपाल” शीर्षकको यो भिडियोको एउटा सानो अंश गुप्ताले युट्युबको स्टोरीमा राखेका थिए ।

जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विशेष गरेर त्यो नाम जुन सौरभ ज्योतीले कार्यक्रममा लिएका थिए ।

देशको व्यापार घाटाको विषयलाई लिएर गुप्ताले देशमै बनेका उत्पादनहरू र आयातित वस्तुमा कसरी सन्तुलन ल्याउन सकिन्छ भनेर गरेको प्रश्नमा ज्योतीले देशकै सामान प्रयोग गर्नुपर्ने कुरालाई जोड दिदैँ “रामबहादुर” को नाममा एउटा उदाहरण दिएका थिए ।

“नेपालीलाई नै नेपाली उत्पादनको बारेमा सचेतना छैन । हामीले हाम्रो सोच बदल्नुपर्छ,” यति भनेर उदाहरण दिँदै उनी थप्छन्, “रामबहादुर भन्ने एउटा साधारण नेपाली, अलार्म क्लक बज्छ, उठ्छ अनि निभाउँछ । त्यो अलार्म क्लक चीनमा बनेको हो ।”

“किचनमा जान्छ र आफ्नो लागि अमेरिकामा बनेको केलोक्सको सिरेल बनाएर खान्छ । लिभाइसको जिन्स लगाउँछ अनि बङ्गलादेशको शर्ट लगाउँछ । अनि जापानमा बनेको मोटरसाइकल चढ्छ र जागिर खोज्नको लागि निस्किन्छ ।”

दिनभर जागिर खोजेर थाकेर रामबहादुर घर फर्केपछिको कथा उनी यसरी सुनाउँछन्, “थाकेर घर फर्किएपछि उ मलेसियामा बनेको सोफामा बस्छ । फ्रान्समा बनेको वाइन गिलासमा हाल्छ र ब्राजिलमा बनेको चप्पल लगाउँछ । चीनमा बनेको टेलिभिजन हेर्छ र उ आफ्नो लागि राम्रो आम्दानी हुने जागिर नेपालमा किन पाइएन भनेर सोच्छ ।”

उनले बोलेको यही कुराले नै अहिले सामाजिक सञ्जाल तताएको हो । सामाजिक सञ्जालमा साधारण नेपाली भनेर जुन रामबहादुरलाई चिनाइएको छ, त्यो वास्तविक रामबहादुरसँग मेल नखाने भन्दै उनको आलोचना पनि भइरहेको छ ।

अनेका नामक एक प्रयोगकर्ताले ज्योतीको भिडिओ ट्वीटरमा शेयर गर्दै लेखेकी छन्, “म दुविधामा छु, कुन चाहीँ साधारण बेरोजगार नेपालीले लेभाइसको जिन्स लगाउछ र दिनभर मोटरबाइकमा जागिर खोज्न गएर नपाएपछि घर फर्कन्छ र फ्रेन्च वाइन खान्छ ?”

नेपालमा होन्डा बाइकको आधिकारिक विक्रेता ज्योती ग्रुपलाई व्यङ्ग्य गर्दै अस्मिता प्रधान लेख्छिन, “के हामी होन्डा र बास्किन रोबिन्स भन्दै नेपाली उत्पादनको प्रबर्द्धन गरिरहेका छौं ? तपाईंले जे देखिरहनु भएको छ, म पनि त्यही देखिरहेको छु । एउटा महङ्गो मोटरबाइकको साथमा रामबहादुर । ”

ज्योतीलाई गिज्याउदै थुप्रै मिमहरू पनि ट्वीटर र फेसबुकमा शेयर भएका छन् भने टिकटकमा विभन्न भिडियोहरू बनेका छन् । त्यति मात्र होइन, ज्योतीले पूर्व गृहमन्त्री रामबहादुर थापा को उदाहरण दिएको भन्दै उनको फोटो सहितको मिम पनि आइरहेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो ट्रोल र मिम शेयर भएपछि शौरभ ज्योतीले फेसबुक मार्फत आफ्नै ट्रोल गरिएको फोटो शेयर गर्दै आफ्नो भनाईको स्पष्टीकरण दिएका छन् । उनले लेखेका छन्, “धेरैजनालाई हाँसो लागिरहेको छ र थोरैले मात्र मैले दिन खोजेको सन्देश बुझेका छन् ।”

“मेरो भनाईंमा म थप स्पष्ट हुनुपर्ने कुरा पनि म आफैँले महसुस गरेको छु । जुन कार्यक्रममा म थिएँ, त्यसले लक्षित गरेको केही निश्चित समूहको उदाहरण दिएर हामीले (म सहित) हाम्रो दैनिकीमा नेपाली उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो सन्देश थियो । हामी सबै सचेत भएर नेपालमै बनेको उत्पादन र सेवालाई प्रबर्द्धन गर्नुपर्छ ।”

केहीले भने हामी सबै रामबहादुर हौँ भन्दै ज्योतीको समर्थन पनि गरेका छन् । पेशल के लम्साल ज्योतीको भिडिओ शेयर गर्दै आफ्नो ट्वीटमा लेख्छन्, “देशबाहिर हामी सबै राम बहादुर हौँ । यद्यपि हाम्रो संघर्ष र भाग्यको आधारमा हाम्रो परिस्थिति फरक हुनसक्छ । तपाईं कुन रामबहादुर ?”

रामबहादुरको नामबाट सुरु भएको यो बहसले सामाजिक सञ्जालमा नेपाली उत्पादनको प्रयोग र प्रबर्द्धनको विषयलाई भने ऊर्जा दिएको छ । मान्छेहरू सामाजिक सञ्जालमा ज्योतीको ट्रोल बनाउने मात्र होइन, नेपाली उत्पादनको विषयमा आफ्नो धारणा पनि व्यक्त गरिरहेका छन् ।

स्वप्निल आचार्य लेख्छन्, “मजाक एकातिर छ तर नेपाली उत्पादन प्रयोग गर भन्नु र गर्नुमा फरक छ । किनभने नेपाली उत्पादन महँगा छन् ” उनको पोस्ट शेयर गर्दै सुयोग लेख्छन्, “सौरभ ज्योतीलाई व्यङ्ग्य गर्नुभन्दा यो विषयमा छलफल गर्नु राम्रो हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah