स्थानीय तह दोस्रो चरणको चुनावमा पार्टीभित्रबाट अर्न्तघात भएको भन्दै गुल्मीका काँग्रेस जिल्ला सभापति भुवन श्रेष्ठले राजीनामा दिएका छन् ।
रेसुंगा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका श्रेष्ठले हारेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । श्रेष्ठले भने, ‘चरम अर्न्तघात भयो । पराजित भइसकेपछि पदमा बसिरहन उपयुक्त ठानिन ।’
श्रेष्ठले आफुले जिल्ला कार्यसमितिमार्फत राजीनामा दिइसकेको बताए । उनले आफ्नै पार्टीकैले हराएको गुनासो गरे । श्रेष्ठविरुद्ध बागी उम्मेदवार समेत उठेका थिए । अजय पन्थी बागी उम्मेदवार बनेका हुन् ।
श्रेष्ठले आफुले दिएको राजीनमा सामाजिक सञ्जाल फेसबुकमा समेत राखेका छन् । उनले भनेका छन्, ‘आफ्नाहरुले नै हराए ।’
यस्तै श्रेष्ठले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनी चुनाव लडेको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ । रेसुंगा नगरपालिका गुल्मीको नयाँ नगरपालिका हो ।



