
दमक/ शुक्रबार दमकका उद्यमीहरुले उत्पादन गरेका घरायसी सामग्रीहरुको प्रदशर्नी तथा विक्री कार्यक्रमको उद्घाटन गरिएको छ । तीज विशेष कार्यक्रम अन्तर्गत दमक नगरपालिका तथा पूर्वाञ्चल बहिरा संघको संयुक्त आयोजनामा दमक वडा नम्बर ५ स्थित दिपीनी स्कुलको प्रांगणमा गरिएको प्रदशर्नी कार्यक्रम दमक नगरपालिकाका मेयर रोमनाथ ओली तथा उपमेयर गीता अधिकारीले उद्घाटन गर्नुभयो । दमक नगरपालिका क्षेत्रका उद्यमी महिला , बहिरा तथा अपांगता भएका व्यक्तिहरु तथा एकल महिलाहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको प्रदर्शनी तथा विक्रिमा विभिन्न १० वटा स्टल राखिएका छन् ।
शुक्रबारबाट सुरु भएको प्रदर्शनी तथा विक्री आगामी २२ गतेसम्म दीपीनी स्कुलको प्रांगणमा राखिने आयोजक महिला उद्यमी समूहले जनाएको छ । कार्यक्रममा नगर प्रमुख ओलीले स्थानिय रुपमा उत्पादन भएका घरायसी सामग्रीहरुको बजारीकरण गर्नका लागि उद्योग वाणिज्य संघ सँगको समन्वयमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सामग्रीहरुको विक्री वितरण वृद्धी गर्नका लागि उत्पादनलाई परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै उप्रमुख अधिकारीले स्थानीय महिला दिदि बहिनीको उत्पादनले बजार पाउनुपर्छ भन्ने उदेश्यले दमक नगरपालिकाले सिकाएको सिपको प्रदर्शनीका लागि कोरोना महामारीको समयमा भएपनि कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
स्टलमा उद्यमीहरुले उत्पादन गरेका घरायसी मुडा, गुडिया, कुसन, धागो बाट बनाएका गलबन्दी झुमर , महिलाहरुले प्रयोग गर्ने ग्यारेन्टीका गहनाहरु पोते चुरा लगायतका सामग्रीहरु प्रदर्शन तथा विक्रिमा राखिएको छ । पछिल्लो समय कारोना महामारीका कारण आफूहरुले उत्पादन गरेका सामग्रीहरुले बजार लिन नसकेको तथा लागानी गर्ने पुँजीको अभावमा चाहेजति उत्पादन गर्न नसकेको उद्यमी महिलाहरुको गुनासो छ । कार्यक्रममा दमक नगरपालिका प्रमुख, उपप्रमुख, ५ नम्बर वडाका अध्यक्ष , वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।