राजर्षि जनक विश्वविद्यालयमा करारमा अध्यापन गराइरहेका उपप्राध्यापकहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका छन् । विगत लामो समयदेखि विश्वविद्यालयका उपप्राध्यापकहरुले आन्दोलन गर्दा पनि व्यवस्थापन पक्षले माग सम्बोधनका लागि चासो देखाएका छैनन् ।

करार नियुक्तिको माग गर्दै गत साउन २४ देखि २९ सम्म पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर काम गरेका उपप्रध्यापकहरु भदौ ८ देखि दोश्रो चरणको आन्दोलनमा छन् ।

जनकपुरधामको भ्रमरपुरा चोकस्थित विश्वविद्यालयको मूलगेटमै प्रत्येक दिन बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका आन्दोलनरत उपप्राध्यापकहरुले आफूहरुको माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

राजर्षि जनक विश्वविद्यालय पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रवि कुमार राजले माग पूरा नभएसम्म आन्दोलन नरोकिने प्रस्ट पारे ।

विश्वविद्यालयले स्थायी उपप्रध्यापक भर्नाका लागि आह्वान गर्ने भन्दै करारका सबै कर्मचारीलाई स्थायी प्रक्रियामा जान भनेको थियो । तर विश्वविद्यालयले केही सातामै विश्वविद्यालयले करारमा ५ जना उपप्राध्यापकलाई भर्ना लिएको थियो । त्यसपछि करारका अन्य उपप्राध्यापक निरन्तर आन्दोलनमा छन् ।

भदौ ८ देखि पठनपाठन ठप्प गरी ३५ जना उपप्राध्यापकहरु विश्वविद्यालयको पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षक संघको ब्यानरमा धर्नामा बसेका छन् ।

स्थापनाकालमै आफूहरुलाई कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रनु परेको संघका सचिव रविकुमार राजले बताए ।

विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र प्रसाद यादवले आफूहरुलाई स्थायी नियुक्तिका लागि तयारी गर्न भने पनि अचानक गत वैशाख १३ मा विशेष टिप्पणीको आधारमा फेरि ५ जनालाई करार नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि आफूहरुले आन्दोलन सुरु गरेको उनको भनाइ छ ।

अहिले विश्वविद्यालयमा २६÷२७ जना कर्मचारीको दरबन्दी रहे पनि उनीहरुका लागि आइरहेको रकम विभिन्न खर्चको नाममा प्रयोग भइरहेको तर शिक्षकलाई कोर्ष करारमा राखेर १० हजार रुपैयाँमात्रै दिइरहेको उनको गुनासो छ ।

आन्दोलनरत शिक्षकहरुले समयमै आफूहरुको माग सम्बोधन नभए विश्वविद्यालयमा तालाबन्दी गर्नेदेखि आमरण अनसन बस्नेसम्मको चेतावनी दिएका छन् ।

यता शिक्षकहरु धर्नामा बसेदेखि रजिष्ट्रार महेन्द्र प्रसाद यादव र भाईस चान्सलर भरत झा विश्वविद्यालयको कार्यालयमा आउन छाडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय