
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ आज शुक्रबार बिहान बाँडफाँड भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०र१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् भने २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएकोमा २३ लाख ४६ हजार ६२७ जना आवेदकको २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता मात्रै रुजु भएका छन् भने ८ हजार ८२० जना आवेदकको आवेदन रद्द भएको छ ।