खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन् । उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको बताए । अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा चढेर पढ्छन् । विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गरेको छ । तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन ।

त्यही कारण उनी ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी हुन सकेनन् । पढाइ छुट्न थालेपछि उनले जुक्ति निकाले । ‘घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरेँ तर कनेक्सन राम्रो देखिएन । एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ । अझ राम्रो कनेक्सन देखायो । जुम मिटिङमा जोडिन सफल भएँ,’ छात्र मगरले भने, ‘रुखमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नविन चाम्लिङले बताए । सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । ३ असाेजबाट भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेकाे छ। १६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । उनका भाइ नयन कक्षा ८ मा पढ्छन् । उनीहरु आमासँग बसिरहेका छन् ।