ओखलढुङ्गमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु् भएको छ । दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा बा११च ५२१० नम्बरको टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकीन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो । दुर्घटनामा अन्य नौ जना घाइते भएको काफ्ले बताउनुभयो । घाइते हुनेमा दुई महिला, चार नाबालक र चालक सहितका अन्य पुरुष छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए ।