विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएको छ । सो अवधिभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिएको खण्डमा प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी दलहरूको तयारी छ।

प्रदेश १ को प्रदेशसभा बैठक असोज २२ गतेका लागि आह्वान भएको छ । विपक्षी गठबन्धन भने मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई त्यतिन्जेलसम्म लम्ब्याउने पक्षमा देखिएको छैन। अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्यले हालै मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी गठबन्धन थप सशंकित भएको छ ।

त्यसैले पनि विपक्षी दलहरुले अब एक साताभित्र मुख्यमन्त्रीले विश्वासको मत नलिएमा प्रदेशसभामा अविश्वास प्रस्ताव लैजाने योजना बनाएका हुन्। प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दल छन् ।

चार दलको बैठकले असोज ८ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रकृया सुरु नगरे अविश्वास प्रस्ताव ल्याएर हटाउने सहमति गरेका छन्। मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने निष्कर्षमा गठबन्धनमा आवद्ध दल पुगेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय