रुपन्देही : बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भएका छन् । साझेदार दलहरु नेपाली कांग्रेस,माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको घेराबन्दीलाई तोड्दै बुटवल उपमहानगरपालिमा एमालेका शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्य विजयी भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ ।
यहाँ प्रमुख, उपप्रमुखसहित १७ वडामा सबै प्यानलसहित एमालेले जितेको छ । बाँकी २ वडा अध्यक्ष मात्र काँग्रेसले जितेको छ ।
काँग्रेस माओवादी केन्द्र गठबन्धनका तर्फबाट काँग्रेसले खेलराज पाण्डेलाई मेयरको उम्मेदवार वनाएको थियो । गठबन्धनले माओवादी केन्द्रका जगतबहादुर पोखरेलाई उपमेयरको उम्मेदवार बनाएको थियो । अहिले अन्तिम वडा १९ नम्बरका केही मतको गणनाका भईरहे पनि ती मतहरुले अब निर्वाचन परिणाममा कुनै अर्थ राख्नेछैन् । किनभने ती सबै जोड्दा पनि गठबन्धन धेरै पछि छ ।
नगरमा काँग्रेसले प्रमुख उपप्रमुख पदमा माओवादी केन्द्रसित तालमेल गरेको थियो भने वडामा राष्ट्रिय जनमुक्तिसित तालमेल गरेको थियो । बुटवलमा ४९ हजार ८ सय ९५ मत खसेको थियो । यहाँ ६६ हजार ६ सय ६३ मतदाता थिए ।
बुटवलमा ०५१ सालदेखि यताका हरेक खालका चुनाबहरु एमालेले सानदार रुपमा जित्दै आएको छ । एमालेको किल्ला तोड्ने भन्दै तीन दल मोर्चाबन्दीमा उत्रिए पनि स्थानीय विकास र प्रदेश बिभाजन बिरुद्ध खेलेको भूमिकाका कारण मतदाताहरुले एमालेलाई नै रोजे ।
दोस्रो चरणमा निर्वाचन भएका ७ उपमहानगरपालिका मध्ये घोराहीमा यसअघि नै एमालेले जितिसकेको छ । बुटवल एमालेले जितेको दोस्रो उपमहानगर हो । पहिलो चरणमा निर्वाचन भएको एक मकमात्र उपमहानगरपालिका हेटौंडा पनि कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले नै जितेको थियो । दोस्रो चरणको निर्वाचनपछि मत गणना भइरहेका धरान, इटहरी र तुलसीपुरमा पनि एमालेको अग्रता छ ।



