बैंक तथा वित्तीय ऐन विपरित अवैध हुण्डी रकम ओसारपसार गर्दै गरेको समयमा पर्सा प्रहरीले दुई भारतीय सहित तीन अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको छपकैया–सिर्सिया नाका हुँदै सिर्सिया छोटी भन्सार अगाडीबाट प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।
अभियुक्तहरुले १५ लाख ५० हजार अवैध हुण्डी रकम लुकाई छिपाई भारतबाट लिएर नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका कारोवारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुर गरेको फेला परेको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए । अवैध रकम सहित मोटरसाइकलमा आउँदै गर्दा पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण थाना कंगेली १ बस्ने बर्ष २५ का बिक्रम पटेल, भारतकै मोतिहारी जिल्ला थाना पलनवा भेलाही बस्ने २९ बर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका बर्ष २३ का बलिराम पटेल रहेका छन् उनले भने ।
ती अभियुक्तहरु जनही ना.६० प ५९९८ नम्बरको सिडी डिलक्स मोटरसाइकल, ना ४१ प १०४८ को सिडी डिलक्स नै मोटरसाइकल र ना ६४ प ८३५९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइक चढी नेपाल छिर्दै थिए । प्रहरीलाई प्राप्त सूचना अनुसार चेकजाँच गर्दा उनीहरुले लगाएको हेल्मेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा श्रोत नखुलेको उक्त परिमाणको अवैध रकम फेला प¥यो । त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
चाडपर्व लक्षित अवैध मालबस्तु ढुवानी गर्ने वेवारिसे ट्रक शुक्रबार नै पक्राउ
अवैध तरिकाले माल ढुवानी गर्दै गरेको ट्रकको सामान सहित प्रहरीले वीरगन्जमा एउटा ट्रक पक्राउ गरेको छ । मेडिकल र किरानाका सामान लगायतका सामान लोड गरी गन्तव्यतर्फ जाँदै गरेको ट्रकलाई पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको हो ।
वैध सामान बोकेर गए झैं गरी वीरगन्जबाट मकवानपुरको हेटौडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–ख ०३३० नम्बरको मालवाहक ट्रकलाई शुक्रबार सवा १२ बजे नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरी परिचालन र कार्वाहीको सिलसिलामा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा प्रहरीले चेकजाँच गर्दा चालक भने फरार भएका छन् । चालक फरार भएपछि वेवारिसे अवस्थाको ट्रकलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए । सो ट्रकमा रहेको सामानहरु कुल ३० लाख मूल्याँकन गरिएको छ उनले भने ।
चालक फरार भई वेवारिसे भएको मालवाहक ट्रकलाई थप कार्वाहीका लागि शुक्रबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्सा प्रहरीले जनाएको छ । यो सहित गएको एकहप्ता पर्सा प्रहरीले चाडपर्व लक्षित अवैध मालबस्तु ढुवानी गर्दै गरेका ४ गाडी सामान बरामद गरिसकेको छ । सामान बरामद हुने र चालक पक्राउ पर्ने क्रम जारी रहे पनि मुख्य अवैध कारोवारी को हुन् ? भन्ने सन्दर्भमा प्रहरीले थप केही बताएको छैन । यो पाटो अनुसन्धानकै क्रममा रहेको पनि पर्सा प्रहरीले जनाएको छ ।



