जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले डा. सिके राउतले मधेशमा भ्रम छर्नु बाहेक अरु केही गर्न नसकिरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा परेपछि राउत नेतृत्वको जनमत पार्टीले दुई दिन अगाडि मात्रै मुख्यमन्त्री कार्यालय घेराउ गरेको थियो।

जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेकोप्रति आक्रोश व्यक्त गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारविरुद्ध सीके राउतले भ्रम सिर्जना गरिरहेको आरोप लगाए। बुधबार बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘एक जना डाक्टर साहेब भोपा लगाएर प्रदेश सरकारले अनियमितता गरेको भन्दै घुमिरहेका छन्, त्यो भ्रम सिर्जना गर्नका लागि मात्रै हो।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अगाडि भने, ‘यहाँबाट तपाई वीरगन्ज जानुस्, सप्तरी जानुस् बाटोमा हिँडनुहुन्छ भने त्यही साइकल पाउनुहुन्छ तर त्यसलाई डिफ्लेम गरिएको छ। एकजना डाक्टर साहब हुनुहुन्छ, उहाँको पार्टी छ, भोँपा बजाउँदै छ। उहाँहरुले भोँपाबाट विस्तारित रुपमा भन्नुहुन्छ– प्रदेश सरकारले अनियमितता गरेको हो।’

मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेकोमा आपति जनाउँदै प्रदेश सरकारलाई बदनाम गराउने काम भएको बताए। उनले भने, ‘तपाईंलाई सूचना चाहिएको थियो भने मलाई भन्न सक्नुहुन्थ्यो, जे मागे त्यो दिन्थेँ।’ अख्तियारको छापाको नाममा विभिन्न जालझेल, षडयन्त्र गरिएको मुख्यमन्त्री राउतको आरोप छ।