चीनबाट आयात गरिएको १५ हजार टन रासायनिक मलमध्ये २४० टन तातोपानी नाकाबाट आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार आइतबारसम्म २०–२० टनका १२ वटा गाडी नेपाल भित्रिएका हुन्। लिमिटेडका प्रबन्धक नेत्र भण्डारीले लामो समयदेखि तातोपानी नाकामा रोकिएको मलमध्ये सो परिमाणमा नेपाल भित्रिएको जानकारी दिए। ‘६ वटा गाडी काठमाडौं र ६ वटा धुलिखेल आएका छन्। बाँकी नाकामै क्यूमा छन्,’ भण्डारीले भने।
उनका अनुसार हिउँदे बाली त्यसमा पनि विशेष गरी गहुँका लागि भनेर चीनबाट मल आयात थालिएको थियो। १० हजार टन युरिया र ५ हजार टन डीएपी चीनबाट ल्याउनका लागि प्रक्रिया अगाडि बढाइएको थियो। स्थलमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपनी नाकाबाट आउन लागेको मल आयातका लागि चीन सरकारले स्वीकृति नदिँदा ढिलाइ भएको हो।
चीन सरकारले पछिल्लो समय कोरोनाको कारण देखाउँदै तातोपानी नाका र रसुवास्थित केरुङ नाकाबाट गरी दैनिक १५ देखि २० वटा कन्टेनर मात्रै सामान आयात गर्न दिइरहेको छ। सोही कारण मलसहित व्यवसायीका अन्य सामान पनि समयमै नेपाल भित्रिन नपाएको व्यवसायी गुनासो गर्दै आएका छन्।
कृषि सामग्री कम्पनीली लिमिटेडले नेपालले ल्याउन लागेको उक्त परिमाणको मल नेपाल भित्रिन अझै समय लाग्ने भएको छ। ‘नाकामा क्यूमा बस्नु पर्ने अवस्था छ। भण्डारीले भने, ‘हाम्रो त दिनमा १०० वटा गाडी जतिले स्वीकृति पायो भने मात्रै सहजै आउने स्थिति हो।’
यसअघि कम्पनीले कृषि मन्त्रालयमार्फत वाणिज्य मन्त्रालय, र परराष्ट्र मन्त्रालयमार्फत मल आयातका लागि पहल गरिदिन आग्रह गर्दै आएको थियो। यता परराष्ट्र मन्त्रालयले समेत मल लगायतका अन्य सामान आयातमा सहज स्थिति बनाइदिन चीनलाई आग्रह गरिएको जानकारी गराएको छ। कम्पनीका प्रबन्धक भण्डारी मल आयातका लागि मन्त्रालयहरुले पहल गरेपनि पूरै मल आयातका लागि सहजता नआएको बताउँछन्।



